केकी र नाजिरको ‘राज्जा रानी’ अब मैथिली भाषामा पनि रिलिज हुने


केकी अधिकारी र नजिर हुसेन अभिनित प्रेम कथानक फिल्म “राज्जा रानी” अब मैथिली भाषामा समेत देशभर रिलिज हुने भएको छ। निर्माता रमेश एमके पौडेलका अनुसार आगामी पुस २१ गते देशव्यापी प्रदर्शन हुन लागेको हो। पहिलोपटक क्षेत्रीय भाषामा सिनेमा प्रदर्शन हुन लागेको हो।

मैथिली रिलिजका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकार समेत लिने गरि २० लाख रुपैयाँमा सम्झौता गरेको छ। पत्रमा भोर प्रमुख कार्यकारी अधिकृत राजकुमार महतो र निर्माता पौडेलबीच सहमति भएको छ।

मैथिली खासगरि मिथिला क्षेत्र (जनकपुर र मधेश)मा बोलिने क्षेत्रीय भाषा हो। निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली सिनेमाको पहुँच वृद्धि गर्नका लागि यस्तो कदम लिइएको बताए। ‘यसले देशभित्रै बजार सिर्जना गर्ने विश्वास लिएका छौं’ उनले भने।

यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्। फिल्मको कथावस्तुलाई मधेशका दर्शकहरुले रुचाउने विश्वास निर्माताले लिएका छन्।

SUBSCRIBE 👉