जाडो मौसममा आफ्नो सुन्दरता चम्काउन यसरी गर्नुहोस मेकअप


जाडो मौसम छ। पार्टीमा जानुपर्ने पनि यही वेला बढी हुन्छ। तर, चिसोले छालालाई बढी सताउने पनि यही वेला गर्छ। यस्तो अवस्थामा अधिकांश तनावमा हुन्छन्। तर, तनाव लिनुभन्दा छालाको सुरक्षा र मेकअपको उचित तरिका जान्नु नै उत्तम हुन्छ :

मौसमअनुसार मेकअप गर्ने तरिका पनि फरक हुन्छ। तर, छालाको अवस्था राम्रो भए मात्रै मेकअप गरेको अर्थ रहन्छ। चिसोमा ब्राइट मेकअप गर्नु उपयुक्त हुन्छ। यो कलरले न्यानो अनुभव गराउँछ।

आँखालाई क्याट र स्मोकी लुक्स दिँदा जाडोमा राम्रो हुन्छ। डबल आइलाइनर तान्न पनि सकिन्छ। जुनसुकै लुक्स दिए पनि मस्कारा लगाउन भने भुल्नुहुँदैन। ब्लु, पर्पल, ओरेन्जजस्ता ब्राइट कलरका आइलाइनरमा सुन्दर देखिन्छ।

गर्मी महिनामा लगाउन चाहेर पनि नपाएको नेलपोलिस जाडोमा मजासँग प्रयोग गर्नुहोस्। डार्क रेड, पर्पल, नेभी ब्लुजस्ता कलर लगाएर नङलाई आकर्षक बनाउन सकिन्छ। तर, यस्ता पोलिस लगाउनुअघि नङलाई निश्चित सेप दिन भने जरुरी हुन्छ।

बेस मेकअपको प्रयोग बढी गर्नुहुँदैन। यसले सुन्दर देखाउनुको साटो अन्य असर गर्न सक्छ। जतिसुकै चिसो भए पनि फाउन्डेसन तथा मोस्चराइजरको प्रयोग गर्न भने भुल्नुहुँदैन। तर, यस्ता प्रोडक्ट एसपिएफ बढी भएको रोज्नुपर्छ।

वैवाहिक समारोहमा आकर्षक तथा ब्राइट कलरहरू प्रयोग गर्नुपर्छ। यसले लामो समयसम्म पनि फ्रेस देखाउन मद्दत गर्छ।

लेहेँगाको कलर रातो, हरियो या गोल्डेनजस्तो भए पनि गोल्ड आई मेकअप सबैलाई सुहाउँछ। त्यस्तै, जुनकुनै डिजाइनको हेभी साडीमा पनि गोल्ड आई मेकअप सुहाउँछ।

दिउँसोको कार्यक्रममा सहभागी हुने हो भने मेकअप हल्का गरेकै राम्रो हुन्छ। नेचुरल देखिने कोसिस गर्नुपर्छ।

पफ्र्युम गर्मीमा मात्र प्रयोग गर्ने हो भन्ने मान्यता धेरैमा पाइन्छ। तर, चिसो मौसममा पनि पफ्र्युमको महत्व त्यति नै हुन्छ।

मेकअप गर्नुअघि छालाको सुरक्षामै जोड दिनु आवश्यक पर्छ। चिसो हावाका कारण छाला सुक्खा हुने भएकाले कोल्ड क्रिम लगाउने बानी बसाल्नुपर्छ। कोल्ड क्रिमले छाला नरम बनाउनुका साथै चम्किलो पनि देखाउँछ। त्यसैगरी ओठ फुट्ने समस्या पनि यही मौसममा बढी हुन्छ। ओठ सुक्खा भएको महसुस भएलगत्तै लिपबाम लगाउनुपर्छ।

शारदा थापा (ब्युटिसियन) सौम्य ब्युटिपार्लर, जमल

SUBSCRIBE 👉