किन सुस्ताए यी फिल्म मेकरहरु


एकताका लगालग फिल्म निर्माण, निर्देशन गर्ने गरेका कतिपय फिल्मकर्मी अहिले सुस्ताएका छन्। सुस्ताएका मात्र होइनन्, उनीहरूमध्ये केही यो क्षेत्रमा सक्रिय नदेखिएको दशक नै पुग्न लागेको छ। दशकअघिसम्म ‘फिल्म फ्याक्ट्री’का रूपमा कहलिएका थिए निर्माता चिरञ्जीवी बस्नेत। उनले एकसाथ तीनवटासम्म फिल्मको सुटिङ गर्ने गर्दथे। नेपाली फिल्ममा संकटकाल लाग्यो भनेर अधिकांश निर्माता सुस्ताएको वेला पनि चिरञ्जीवीले फिल्म बनाइरहे। एक समय उनले ‘च’ अक्षरबाट लगातार फिल्म बनाए। खासमा निर्माण नियन्त्रकका रूपमा चल्तापुर्ता चिरञ्जीवी खलअभिनेताका रूपमा पनि चिनिन्थे। हिन्दी फिल्म अनाडी जस्तै ‘चोर’ नामक नेपाली फिल्म निर्माण गरेका उनले त्यसपछि चण्डाल निर्माण गरेका थिए।

चिरञ्जीवी बस्नेत
चण्डाल र चोरले आफूलाई मनग्य नाफा दिएको भन्दै उनले त्यसपछि लगातार ‘च’ अक्षरबाटै चौतारी, चमत्कार, चलचित्र, चाहन्छु म तिमीलाई र चक्रव्यूह फिल्म निर्माण गरे। चक्रव्यूहले खासै नाफा नदिएपछि उनले ‘च’ प्रेम छाडे। बीचमा उनले सन्तान थरिथरिका, रामलक्ष्मण, युद्ध, दानवीर, दाइको ससुरालीलगायत फिल्म निर्माण गरे। त्यसपछि उनी केही समय ‘भ’ अक्षरमा आकर्षित भए। भागी–भागी नजाऊ, भीष्मराजलगायत केही फिल्म निर्माण गरे। उनले ‘भ’ अक्षरबाटै भै गो नि त, भन्न सक्दिनँलगायत झन्डै एक दर्जन फिल्म दर्ता गरेका थिए। तर, भागी–भागी नजाऊले घाटा लगाएपछि भने उनी सुस्ताए। झन्डै साढे दुई दर्जन फिल्म निर्माण गरेका चिरञ्जीवीले त्यसपछि फिल्म निर्माण गरेका छैनन्। उनको म भीष्मराज नामक फिल्म प्रदर्शन हुन बाँकी छ।

चिरञ्जीवीले तीन वर्षअघि एकसाथ तीनवटा फिल्म बनाउने योजना बनाएका थिए। उनी विराज भट्टलाई हिरो लिएर एकैचोटि तीनवटा फिल्म खिच्ने सोचमा थिए। तर, स्थिति अनुकूल नभएको ठहर गरी उनले फिल्म बनाएनन्। ‘अहिलेको माहोल नै ठीक लागेन मलाई,’ आफ्नो गृहनगर इटहरीमा फिल्म चलाएर बसेका चिरञ्जीवी भन्छन्, ‘अब पहिलाको जस्तो समय रहेन। दर्शकको रुचि फेरिइसक्यो। पहिलाका हिरोहिरोइनका फिल्म चल्न छाडे। त्यसैले, केही समय बजार विचार गरिरहेको छु।’ केही समयपछि आफूले नयाँ शैलीको फिल्म निर्माण गर्ने योजना उनले सुनाए।

युवराज लामा
द्वन्द्वनिर्देशक, निर्माता हुँदै निर्देशक बनेका युवराज लामाले पनि एक समय लगातार फिल्म निर्माण गरे। तुलसी घिमीरेलाई निर्देशक लिएर निर्माण गरेको देउता फिल्म हिट भएपछि उनले तत्काल आफूलाई निर्देशकमा समेत बढुवा गरे। लामाले आफ्नो निर्देशनमा प्रतिज्ञा, खेलौना, देउराली, देवदूत, देशपरदेश, दुल्हाराजा दुलहीरानी, मनमन्दिर, धर्मात्मा, धर्मपुत्रलगायत फिल्म निर्देशन गरे। तर, निर्माताको रूपमा उनले बिरलै सफलता पाए। एकताका उनी ‘द’ अक्षर प्रेमी थिए। आफ्नो फिल्मको नाम कसोकसो ‘द’बाटै जुराउँथे। तर, उनलाई पनि ‘द’ फापेन।

लामा फिल्म बनाउँछु भन्न चाहिँ छोड्दैनन्। तर, उनले फिल्म नबनाएको झन्डै डेढ दशक पुग्न लागेको छ। उनले निर्माण गरेको प्रदर्शित अन्तिम फिल्म धर्मात्मा हो। त्यसपछि उनले गायक निमा रुम्बालाई हिरो लिएर टेन प्लस टु नामक फिल्म बनाउने तयारी गरेका थिए। तर, त्यो फिल्म बनेन। लामा पछिल्लो समय शिव रेग्मीको फूल फिल्ममा महत्वपूर्ण भूमिकामा देखिएका थिए। माओवादी सरकारको पालामा राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भएपछि उनी उतै रमाए। यद्यपि, उनी फिल्म बनाउँछु भन्न चाहिँ छोड्दैनन्।

अशोक शर्मा
अर्का चर्चित तथा सफल फिल्म निर्माता, निर्देशक अशोक शर्माले पनि एकल लगानीमा फिल्म नबनाएको डेढ दशक पुगेको छ। उनले ०५९ सालमा मितिनी फिल्म निर्माण गरेका थिए। त्यसपछि दर्शकले उनको फिल्म हेर्न पाएका छैनन्। राजकुमार शर्मालाई निर्देशक लिएर ट्रक ड्राइभर फिल्म निर्माण गरेका शर्माले सीताबाट आफूलाई निर्देशकमा बडुवा गरे। त्यसपछि उनले आफ्नो निर्माणका मितिनीबाहेक सबै फिल्म आफैँले निर्देशन गरे। सीतापछि उनले गरिब, नीरमाया, अल्लारे, मिस्टर रामकृष्णे र यो मायाको सागर आफैँले निर्देशन गरे। अनीश कोइराला निर्देशित मितिनीले उनलाई राम्रै मुनाफा दिएको थियो। त्यतिवेला उनले सानु शाक्यलाई निर्देशक लिएर छोरी नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए। तर, छोरी अहिलेसम्म बनेको छैन।

शर्माले बीचमा छविराज ओझा र उज्ज्वल घिमिरेसँगको संयुक्त लगानीमा अन्दाज फिल्म निर्माण गरेका थिए। अन्दाजबाट धेरै रकम मुनाफा नभएकाले उनी फिल्म निर्माणमा लालायित भएनन्। डिजिटल सिनेमा नेपालमार्फत फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा सक्रिय शर्मा अब भने आफ्नै निर्देशनमा फिल्म निर्माणको तयारीमा जुटेका छन्। माघ अन्तिमबाट सुटिङ सुरु हुने उनको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। तर, प्रदर्शन मिति भने तोकिसकिएको छ। शर्माको सो फिल्म ०७५ को फूलपातीमा प्रदर्शन हुनेछ। उक्त मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पन्जा ३ पनि प्रदर्शन हुने घोषणा छ।

शम्भु प्रधान
‘स’प्रेमी निर्देशकका रूपमा चर्चित थिए शम्भु प्रधान। उनले ‘स’ अक्षरबाटै सपना, सरस्वती, स्वर्ग, सक्कली नक्कली, सुनचाँदी, सोह्रवर्षे जोबन, सन्न्यासलगायत फिल्म निर्माण, निर्देशन गरे। फिल्म निर्देशक तथा सम्पादकका रूपमा पनि चर्चित शम्भुलाई सन्न्यास फिल्मले नराम्रोसँग झड्का दियो। त्यसपछि उनी झन्डै सात वर्ष फिल्म निर्देशनबाट ओझेल परे। तर, तीन वर्षअघि उनले सुमीना घिमिरे, गरिमा पन्त र दिक्पाल कार्कीलाई लिएर रंगबंजनी नामक फिल्म निर्माण गरे। रंगबंजनीले उनलाई सन्न्यासले भन्दा पनि दह्रो झड्का दियो। त्यसपछि भने उनले फिल्म बनाएका छैनन्। उनी अनामनगरमा नूतन सुटिङ स्टुडियो चलाउँछन्। समय अनुकूल लागेपछि पुनः फिल्म निर्माण गर्ने योजना उनको छ।

दीपक श्रेष्ठ
एकताकाका व्यस्त र चर्चित निर्देशक हुन्– दीपक श्रेष्ठ। गाउँलेबाट फिचर फिल्म निर्देशन सुरु गरेका दीपकले त्यसपछि भाइ, आमाको आशीर्वाद, अजम्बरी माया, त्रिशूल, दुःख, पापी मान्छे, पापी मान्छे २, हिम्मत, हिम्मत २, रङ वेलगायत फिल्म निर्देशन गरे। अश्लीलतालाई प्रश्रय दिइएको रङ वेको प्रदर्शनपछि भने दीपकले निकै आलोचना खेप्नुपर्‍यो। त्यसपछि उनले अर्काे फिल्म बनाएका छैनन्। अचेल उनी फिल्मवृत्तमा देखिँदैनन्। उनले निर्देशन गरेको पुरानो हुँदैन माया र वाचा नामक फिल्म प्रदर्शन नभई थन्किएका छन्। निर्माता भेटेमा फिल्म बनाउने योजना चाही छ उनको। यद्यपि, अचेल उनलाई निर्माताले पत्याउन छाडेको देखिन्छ।

मदन घिमिरे
अर्का फिल्म निर्देशक तथा निर्माता मदन घिमिरे भने जेनतेन फिल्म क्षेत्रमै सक्रिय छन्। आमाको माया, माया नमार, माया बसेछ, दादागिरी, म छु नि तिम्रो, स्वाभिमान, माया गर ल लगायतका फिल्म निर्देशन गरेका उनी बीचमा केही समय ओइलाएका थिए। तर, अहिले आफू जागिसकेको उनी बताउँछन्। ‘बीचमा फिल्मकर्मबाट म केही समय टाढै बसेँ,’ उनी भन्छन्, ‘भूकम्पले घर भत्काएकाले त्यतातिर लागियो। अहिले फेरि जुर्मुराएको छु।’ घिमिरेले निर्देशन गरेको पछिल्लो फिल्म ब्वाइफ्रेन्ड १२ माघमा रिलिज हुँदै छ। उनको अर्काे फिल्म काउसो भने पोस्टप्रोडक्सनमा छ। निर्देशक तथा निर्माता उज्ज्वल घिमिरे पनि सधैँ फिल्म बनाउँछु भन्छन्। तर, उनले वडा नम्बर ६ पछि ‘एक्सन–कट’ भन्न पाएका छैनन्। घिमिरे सेयर बजारमै मस्त छन्। यद्यपि, ‘अब फिल्म बनाउँछु’ चाहिँ भनिरहन्छन्।

नरेश पौडेल
एक समय लगातार फिल्म बनाउने गरेका निर्माता, निर्देशक नरेश पौडेल पनि अचेल फिल्मवृत्तमा गुमनाम छन्। अपराध, हिरो, चुनौती, धड्कनलगायत फिल्मका निर्देशक नरेशले पछिल्लो समय दीपशिखा नामक फिल्म निर्माण गरेका थिए। अरुणिमा लम्साल, जीवन लुइँटेल र नीरज बराल मुख्य भूमिकामा रहेको त्यो फिल्मले पौडेललाई घाटा लगायो। त्यसपछि उनले फिल्म बनाएका छैनन्। यद्यपि, उनी पनि नयाँ फिल्मको तयारीमा छु भन्न छोड्दैनन्। उनले केही समयअघिसम्म स्विट सिक्टिन नामक फिल्म बनाउँछु भन्ने गरेका थिए। फिल्म निर्माण, निर्देशन छोडेर उनी आफ्नो पुरानो पेसा (टुरिस्ट गाइड)मा फर्किएका छन्।

शोभित बस्नेत
शोभित बस्नेतले पनि एकताका लगालग फिल्म बनाए। निर्माण, निर्देशन, अभिनय जता पनि उनी आफैँ हाबी हुन्थे। तर, पछिल्लो समय उनी फिल्म निर्माणमा धेरै सुस्ताएका छन्। दुई वर्षअघि उनको जाऊँ हिँड पोखरा प्रदर्शन भएको थियो। त्यसपछि दर्शकले हलमा उनीनिर्मित फिल्म हेर्न पाएका छैनन्। यद्यपि, उनले निर्माण गरेको नयाँ फिल्म बाबुकान्छा भने प्रदर्शन हुन बाँकी छ। आफूले बनाउने फिल्मको व्यापार पहिलेजस्तो नाफामूलक नभएको ठहर गरेर उनले फिल्म बनाउने कामलाई प्राथमिकतामा नराखेका हुन्। पछिल्लो समय उनी टेलिसिरियलतिर लागेका छन्। डिस–होममा उनी अभिनीत सेरेले हसाउँछ नामक कमेडी सिरियल प्रसार हुनेगरेको छ। केही समयपछि नयाँ फिल्म बनाउने योजना भने उनको छ।

नारायण पुरी
अर्का ‘फिल्म फ्याक्ट्री’ नारायण पुरीले पनि फिल्म निर्देशन नगरेको धेरै भयो। आफूले निर्देशन गरेका मान्छेको माया र मातृभूमि नामक फिल्म हलले चलाउन नमानेपछि सेलाएका पुरीको ए फर अमेरिका नामक फिल्मको सुटिङ पूरा भएको छैन। झन्डै दुई वर्षअघि हसन खानले पुरीलाई निर्देशक लिएर रोमियो नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए। तर, पुरी ग्रिनकार्ड लिएर अमेरिका उडेपछि सो फिल्म नयाँ निर्देशक शंकर कार्कीले निर्देशन गरे। गत २४ कात्तिकमा रिलिज भएको रोमियो असफल भयो।

करिश्मा मानन्धर
ढुकढुकी, बाबुसाहेब र फागु पनि करिश्मा मानन्धरले पनि नयाँ फिल्म निर्माण गरेकी छैनन्। डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लागेर राजनीतिमा आफूलाई अभ्यस्त गराउँदै गएकी करिश्मा अब तत्काल फिल्म बनाउने सोचमा छैनन्। ‘कलाकारिता झैँ अब राजनीतिबाट देश र जनताको सेवा गर्छु,’ उनी भन्छिन्, ‘मेरो तत्काल फिल्म बनाउने कुनै सोच छैन।’

गत भदौमा आफ्नै नामबाट फिल्म निर्माण कम्पनी खोलेकी अभिनेत्री नीता ढुंगानाको फिल्म पनि बनेको छैन । उनी निकट भविष्यमै फिल्म निर्माण गर्ने योजनामा भने छिन्।

अभिनेता राजेश हमालले फिल्म बनाउँछु भन्न थालेको डेढ दशक बितेको छ। हमालकै हाराहारीमा फिल्म बनाउने बताउँदै आएका अर्का अभिनेता शिव श्रेष्ठको फिल्म पनि अहिलेसम्म फ्लोरमा गएको छैन।

पहिला फिल्म बनाइरहने कतिपय निर्माता, निर्देशक पछिल्लो समय चुपचाप बसेका छन्। कतिपयले निर्माता नपाएर फिल्म बनाउन सकेका छैनन् भने केही ‘अनुकूल समय’ हेरिरहेको बताउँछन्।

SUBSCRIBE 👉