साता दिनमा फिल्म हेर्ने काम सकिँदै


nefta-film-award
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले वर्षेनी आयोजना गर्ने चलचित्र महोत्सव अन्तर्गतको सातौं संस्करणका लागि महोत्सवका जुरीहरुले फिल्म हेर्ने कामलाई जारी राखेका छन्। केही समयअघिसम्म राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा महोत्सवका लागि प्रतिष्पर्धी फिल्म हेरिरहेका जुरीले अहिले विशालनगरमा रहेको नेपाल चलचित्र संघको कार्यलयमा फिल्म हेरिरहेका छन्।

आयोजक संस्थाका अध्यक्ष मनोज केसीका अनुसार बिहिबारसम्म जुरीले ४६ वटा फिल्म हेरिसकेका छन्। ‘२०६९ भदौ महिनादेखि २०७० सालभरी रिलिज भएका नेपाली फिल्महरु महोत्सवमा प्रतिष्पर्धी छन्,’अध्यक्ष केसीले भने,‘अझै हप्तादिनसम्म जुरीले फिल्म हेर्नेछन्। महोत्सवमा जुरीले हेरेका फिल्मको आधारमा विभिन्न ३१ विधामा उत्कृष्ठ ५ को मनोनयन सार्वजनिक गरिनेछ।’ महोत्सव गत जेठ १ गतेबाट चलिरहेको छ।

यस पटकको महोत्सवको जुरीमा वरिष्ठ फिल्म पत्रकार भरत शाक्य, रामशंकर प्रधान, फिल्म सम्पादक तथा निर्देशक रक्षासिंह राणा, विश्वदेव श्रेष्ठ र कलाकार प्रभाकरदेव शर्मा रहेका छन्। यसअघि मलेसियामा सफलतापूर्व सम्पन्न भएको नेफ्टा अवार्ड यसपटक हङकङमा अवार्ड गर्ने तयारी गरिरहेको छ।

SUBSCRIBE 👉