तरकारीवाली कुशुम श्रेष्ठ अभिनित फिल्मको तिन पोस्टर


तरकारीवाली नामले भाईरल भएकी कुशुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’का पोस्टरहरु सार्वजनिक भएका छन्। सार्वजनिक तीन पोस्टरहरु फरक-फरक प्रकृतीका छन्। तीनवटै पोस्टरमा नवनायक कबिर खड्का देखिएका छन्। एक पोस्टरमा कबिर एक्लै देखिएका छन्। अन्य दुई पोस्टरमा भने कबिरको साथमा अन्य कलाकारहरु छन्।

एक पोस्टरमा तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठ देखिएकी छिन्। कुशुमले हातमा सेतो गुलाबको फुल लिएकी छन्। उनिसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेत पोस्टरमा देखिन्छन्। उक्त पोस्टरमा कबिर र मरिस्का रोमान्टिक मुडमा देखिएका छन्। तेश्रो पोस्टरमा भने तीन अभिनेताहरु मात्र छन्। कबिरको साथमा सलोन र सञ्जित भण्डारी रहेका छन्।

चलचित्रले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ। यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक गोपालचन्द्र लामिछानेले बताएका छन्। ‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन्। यो चलचित्रमा भूपतिको लेखन छ। दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ। चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय छ।

यस अघि नै अर्जुन पोखरेलको संगीत रहेका यो चलचित्रका चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भएका थिए। सार्वजनिक सबै गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको संगीतकार पोखरेलले बताए। अब छिट्टै ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। यो चलचित्र २०७५ बैशाख २८ मा रिलीज हुनेछ।

SUBSCRIBE 👉