एफडी स्टुडियोमा सुब्रत आचार्यको ‘अधकट्टी’


subrat-acharya-namrata-shrestha-gaurav-pahadi-jaya-acharya
ग्ल्यामर नेपाल, काठमाडौं । दुई बालसखाको पैसा कमाउने महत्वाकांक्षामा साथ दिन आएको अर्को पात्रको प्रवेश पछिको उतारचढावलाई प्रस्तुत गरिएको फिल्म ‘अधकट्टी’ सोमबारबाट पोष्टप्रोडक्सनमा गएको छ। कमेडी फ्लेबरको फिल्मले राजधानीको अनामनगरमा सोमबारबाटै सञ्चालित एफडी स्टुडियोमा सम्पादनबाट आफ्नो पोष्टप्रोडक्सनको काम थालेको हो।

निर्माता प्रदीपकुमार उदयले निर्माण गरेको फिल्मका निर्देशक रंगपत्रकार सुब्रत आचार्य हुन्। निर्देशक आचार्यका अनुसार फिल्मको पोष्टप्रोडक्सनको काम एक महिनामा सकिनेछ। ‘फिल्मको डबिङ, मिक्सिङ, ब्याकग्राउण्ड स्कोरलगायतका सबै काम एफडी स्टुडियोमा नै गर्नेछौं,’आचार्यले भने,‘सबै काम सकेर हलमा जाने उत्पादन निकाल्नेछौं।’ उनका अनुसार फिल्ममा रहेको एक आइटम गीतको सुटिङ असार ६ गते गरिनेछ, जसमा नायिका नम्रता श्रेष्ठको आइटम डान्स हेर्न पाइनेछ। निर्देशक आचार्यले चार दिनमा आइटम डान्सको सुटिङ सकिने र केही दृश्य खिच्न बाँकी रहेको जनाए। फिल्म फागुनमा रिलिज हुँदैछ।

गौरव पहारी, विल्सनविक्रम राई, प्रदीप बास्तोला, अशिष्मा नकर्मी, रिश्ता बस्नेत, पुष्प आचार्य, साइब्रत आचार्यको अभिनय रहने फिल्ममा गजित विष्ट र नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिँदैछन्। कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकालको कथा रहेको फिल्ममा विजय अधिकारीको पटकथा, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी र हरि घलेको छायांकन रहेको छ।

पछिल्लो समयमा फिल्म वितरणमा आफुलाई अब्बल साबित गर्दै आएको एफडी कम्पनीले उक्त स्टुडियो सञ्चालनमा ल्याएको हो। फिल्म निर्माता सुशिल श्रेष्ठले सञ्चालन गर्दै आएको सफ्ट ईमेजलाई नयाँ व्यवस्थापनका साथ एफडी कम्पनीले सञ्चालनमा ल्याएको हो। कम बजेटमा उत्कृष्ट फिल्म तयार पार्ने लक्ष्यसहित अनामनगरमा स्थापना गरिएको स्टूडियोमा फिल्मीकर्मीहरुले पोष्ट प्रोडक्शनका सम्पूर्ण काम गर्न सक्नेछन्।

स्टुडियोमा फिल्म निर्माता प्रदिप उदय, नायिका रेखा थापा, निर्माता छवि ओझा, वितरक नरेन्द्र महर्जन, पोखराका हल व्यवसायी उत्तम दुवा, बागेश्वरी चलचित्र मन्दिर नेपालगञ्जका प्रोपाइटर राजेश श्रेष्ठ र चलचित्र संघका निवर्तमान अध्यक्ष राजकुमार पोखरेलको संयुक्त लगानी छ।

SUBSCRIBE 👉