‘पुन्टे परेड’को कमेडी प्रोमो


samyam-puri-punte-parade

Samyam Puri – Punte Parade

ग्ल्यामर नेपाल, काठमाडौं । ब्लकबस्टर फिल्म ‘सायद’का अभिनेता संयम पुरीको दोस्रो फिल्म ‘पुन्टे परेड’ रिलिजका लागि तयार भएको छ। सुवास कोइराला निर्देशित यो फिल्मको बुधबार अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। संयमलाई निकै हाइलाइट गरिएको डेढ मिनेटको उक्त ट्रेलरबाट फिल्म कमेडी रहेको अनुमान लगाउन सकिन्छ। ‘सायद’मा जस्तै यो फिल्ममा पनि संयमले विद्यार्थीको भूमिका निर्वाह गरेका छन्। यसैबीच, बुधबार नै फिल्म युनिटले राजधानीमा पत्रकार सम्मेलन गरेको थियो। जहाँ निर्देशक कोइरालाले एसएलसी पास गरेर कलेजमा पढ्न गएको युवाहरुको कथालाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरेको बताएका थिए। उनका अनुसार फिल्ममा टिन एजर्सले सोच्ने सोचाइबाट उत्पन्न हुने समस्यालाई उजागर गरिएको छ।

हरि महत प्रस्तुतकर्ता र सुरज कोइराला तथा अनिल अधिकारी निर्माता रहेको यो फिल्ममा संयमसँगै एञ्जिला दाहाल, निलुडोमा शेर्पा, रविन्द्र खड्का, गीता अधिकारी, नाजिर हुसेन, सरोज श्रेष्ठलगाएतका कलाकारको अभिनय रहेको छ। अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीलाई केमियो भूमिकामा देख्न सकिन्छ। शान बस्न्यातको कथा, पटकथा र संवाद रहेको फिल्ममा ताराप्रकाश लिम्बु र टेकनन्द लामाको संगीत रहेको छ भने फिल्मलाई बाबु श्रेष्ठको खिचेका हुन्।

निर्देशक सुवासका अघिल्ला दुई फिल्म ‘अपवाद’ र ‘आवरण’ व्यावसायिक रुपमा असफल भएका छन्। त्यसैले ‘पुन्टे परेड’ उनका लागि अग्नी परीक्षा मानिएको छ। जसको नजिता साउन २ गते फिल्म रिलिज भएपछि नै थाहा हुनेछ।

<<<‘पुन्टे परेड’को कमेडी प्रोमो हेर्न
यहाँ क्लिक गर्नुहोस् >>>

SUBSCRIBE 👉