थाइल्याण्डमा रुचाइयो ‘चि मुसी चि’


काठमाडौं । फिल्म ‘चि मुसी चि’लाई थाइल्याण्डमा बस्दै आएका नेपाली तथा स्थानीयले रुचाएका छन् । बैंककमा रहेको मेजर सिनेप्लेक्समा फिल्म प्रदर्शन हुँदा त्यहाँ बस्ने नेपालीले फिल्मको सस्पेन्स पाटो र गीतसंगीतको मुक्त कण्ठले प्रशंसा गरेका थिए । फिल्मको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने बताइएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस फिल्मको अर्को शो भब्य रुपमा सम्पन्न भएको छ ।

बैंकक र पतैयामा सफल प्रदर्शन पश्चात फेरि सो ठाउँमा उक्त फिल्म प्रदर्शन हुने सम्भावना बढेको आयोजक संस्था थाई नेपाली संघले जानकारी दिएको छ । फिल्मको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन् ।

निर्माता कार्की थाइल्याण्डबासी नेपालीबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताए । उनले भने, ’फिल्म हेर्नुभएका सबैले राम्रो भन्नुभएको छ । हाम्रो लागि यो ठूलो सफलता हो ।’ यस्तै, अभिनेता सुशान्तले आफ्नो भूमिका रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए ।

दिनेश श्रेष्ठ निर्देशित फिल्ममा अलिशा शर्मा र सुनिल क्षेत्रीको पनि प्रमुख भूमिका छ । नृत्य क्षेत्रमा आफूलाई स्थापित गरिसकेका यी दुईको यो डेब्यु फिल्म हो । नेपालसँगै थाइल्याण्डबासी नेपालीले पनि यो कपलको अभिनयको तारिफ गरेका छन् । यस फिल्मको निर्मातामा अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डबबहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

SUBSCRIBE 👉