‘ब्ल्याकमा फरक प्रेमकथा’


काठमाडौं । आगामी भदौ १ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘ब्ल्याक’ यतिबेला प्रमोसनका लागि उपत्यका बाहिरका प्रमुख स्टेसनमा पुगेको छ । फिल्मको कलाकारसहित पूर्वी नेपालको यात्रामा रहेको फिल्म युनिटले स्थानीय पत्रकार तथा दर्शकसँग अन्तरक्रिया गर्दै फिल्मको प्रचारप्रसार गरिरहेको छ ।

फिल्म युनिटले झापाको बिर्तामोडमा पत्रकारसँग भेटघाट गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरे । फिल्मका निर्देशक प्रदिप श्रेष्ठले सबैजसो फिल्मले उठाउने लभस्टोरी कहिँकतै ठोकिन जाने भएता पनि ’ब्ल्याक’को प्रस्तुती केहि भिन्न भएको दाबी गरे । ‘फिल्मले जिन्दगीका रङहरुको व्याख्या गरेको छ,’ उनले भने ।

निर्मात्री आश्मा पाण्डेले आफु पूर्वकै चेली भएको भन्दै फिल्म निर्माणमा आफ्नो उपस्थितीलाई दरिलो बनाउन र आफुलाई सफल बनाउनको लागी सबै पूर्वेली दर्शकको साथको अपेक्षा गरिन् । उनले बिना कन्जुस्याई फिल्ममा लगानी गरेकाले लगानी उठ्नेमा आफू ढुक्क रहेको बताइन् ।

फिल्मकी नायिका आँचल शर्माले ‘ब्ल्याक’ आफुले यसअघि गरेको फिल्म भन्दा भिन्न रहेको भन्दै आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व फिल्मले गरेको दाबी गरिन् । नायक आकाश श्रेष्ठले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष फिल्मले दिलाउने बताए ।

फिल्म युनिट बिर्तामोड, दमक, इटहरी, धरान, हेटौंडा, चितवन र बुटवल हुँदै पोखरा पुग्नेछ । मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।

SUBSCRIBE 👉