संघर्षको कथामा ‘दाल भात तरकारी’


काठमाडौं । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ को घोषणा गरेका छन् । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको औपचारिक घोषणा राजधानीमा एक कार्यक्रमको बीच गरिएको हो ।  यसलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्म रिमेम्बर मि र माई लभमा सह(निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, टिमकै अघिल्लो फिल्म ’शत्रु गते’ मा पनि सहायक निर्देशकको रुपमा काम गरेका थिए ।

यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल , राजाराम पौडेल , शिशिर बाङ्ग्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट फिल्मको छायाँकन सुरु हुँदैछ । वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने घोषणा समारोहमा जनाइयो । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् ।

स्क्रिन प्ले र डाइलग पनि उनकै हो । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् । फिल्ममा पुष्पलको जोडी स्वस्तिमासँग बाँधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ । विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने बताइएको छ ।

मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।

SUBSCRIBE 👉