‘रोज’ बन्यो प्रदिपको ‘रोजी’


काठमाडौं । आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’ राखिएको छ । काठमाडौं वडा नम्बर १५ बस्ने गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्मको कथा र परिवेश मिलेको भन्दै पटक–पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।

चलचित्र विकास बोर्डमा बिहिबार निर्माता–निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोविन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको वार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित फिल्मको कथा मिलेको मर्हजन परिवारले दाबी गरेका थिए । महर्जन परिवारले चलचित्र निर्माणको सुरु देखि नै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाब दिँदै आएका थिए ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने,सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपु¥याउने सम्झौता भएको छ । यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो ।

‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’ निर्देशक पौडेलले भने ।

रोजी हत्या काण्डको बारेमा आफुलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले फिल्मको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याकाण्डबारे आफूले अध्ययन गरेको पनि निर्देशक पौडेलले बताए । गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

SUBSCRIBE 👉