आयुष्मान र शिल्पाको ‘सानो मन’


Ayushman Desraj Joshi and Shilpa Maskey

असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सानो मन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ। यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव देखाइएको छ।

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्मको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास गर्न सकिन्छ। कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ। ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ।

गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ। ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो। सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन्। समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन्।

फिल्मको एक गीत थाईल्यान्डको पतायाको समुन्द्री किनारमा खिचिएको छ। काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के.मित्तल र राजेन्द्र मानन्धर हुन्। फिल्मका प्रोडक्सन डिजाइनर यम ओली हुन।

रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए। फिल्मलाई लिएर आयुष्मान र शिल्पा निकै उत्साहित छन्।

SUBSCRIBE 👉