जन्म दिनमा राता मकैलाई दीपाको मकै उपहार


kiran-kc-rata-makai

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा ‘राता मकै’को थेगो बोलेर आम दर्शकको मनमा बसेका हाँस्य कलाकार किरण केसीले हरेक वर्षको असार १५ गते आफ्नो जन्मदिन मनाउँदै आएका छन्। उनी आफ्नो जन्मदिन घरमा प्रायः मनाउँदैनन्। यो दिन दही चिउरा खाने विशेष दिन भएकाले पनि जन्मदिनमा किरण हाँस्यव्यंग्यमा नाम कमाएकादेखि उदाउँदै गरको नवकलाकारलाई भेला पारेर हाँस्यव्यंग्य सम्बन्धी नै अन्तरक्रिया गर्छन। आइतबारको असार १५ मा पनि उनले त्यो कामलाई निरन्तरता दिए।

जन्मदिनमा किरणलाई आफ्ना शुभचिन्तकले विभिन्न उपहार दिने गरे पनि राजधानीमा आइतबार आयोजित कार्यक्रममा हाँस्यकलाकार दीपाश्री निरौलाले दिएको उपहार भने प्रमुख आर्कषणको केन्द्र बन्यो। ‘राता मकै’ किरणलाई दीपाश्रीले झोलाबाट निकालेर मकैको झुत्ता दिएपछि सबैले दीपाको कामको प्रशंसा गरेका थिए। ‘दाईको थेगो अनुसारकै उपहार दिएकामा हामी खुशी छौं,’दीपाश्रीले भनिन्,‘किरण दाईको मन असार पन्ध्रको दही चिउराजस्तै स्वच्छ र पवित्र छ।’

कार्यक्रमको थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीदेखि उनीहरु भन्दा पुराना रामकुमार पाँडे, रामशेखर नकर्मी, चट्याङ मास्टर अनि नयाँपुस्ताका दीपकराज गिरी, दीपाश्री निरौलादेखि उदाउँदै गरेका कुमार कट्टेल ‘जिग्री हजुर’सम्मका कलाकारलाई किरणले उपस्थित गराएका थिए। सबैजनाले एकसाथ हाँसेर शुरु गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार तथा कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठलाई पत्रकारिता पुरस्कार र वरिष्ठ कलाकार, निर्देशक तथा लेखक रामशेखर नकर्मीलाई कलाकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। महजोडी र किरणले श्रेष्ठ र नकर्मीलाई जनही १० हजार रुपैंयाँ राशीसहित ताम्रपत्रबाट पुरस्कृत गरेका थिए।

‘हाँस्यव्यंग्यमा के छ ?’ शीर्षकमा अन्तरक्रियासमेत रहेको कार्यक्रममा जितु नेपाल, शिवहरि पौड्याल, दीपकराज गिरी, मह जोडी, रामकुमार पाँडेलगायतले वर्तमान समयमा हाँस्यव्यंग्यको भविष्यमा राम्रो बन्दै गएकोमा खुशी व्यक्त गर्दै हाँस्यव्यंग्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए । कार्यक्रममा ‘नेपालका चर्चित हाँस्यकलाकारहरु’ नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो।

कार्यक्रमको थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉