ग्ल्यामर नेपाल, काठमाडौं । गत शनिवार अचानक हृदयघात भएपछि राजधानीका बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गराई रहेका बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ। अस्पतालको भेन्टिलेटर वार्डमा उपचाररत उनलाई अहिले अक्सिजन दिईराखिएको छ।
अस्पतालका स्रोतका अनुसार उनको कहिले होस खुल्ने त कहिले नखुल्ने समस्या भइरहेको छ। फिल्म ‘सेतो बाघ’को पोष्ट प्रोडक्सनमा व्यस्त नीरलाई बुढानिलकण्ठस्थित निजी निवासमा हृदयघात भएको थियो। परिवारका अनुसार सोमबार बेलुकासम्म उनको स्वास्थ्यमा अझ राम्रो सुधार भयो भने अक्सिजन दिने कामलाई केही समयका लागि रोकिनेछ।
नीर बिरामी भएको खबर सार्वजनिक भएपछि उनलाई भेट्न जाने कलाकार तथा शुभचिन्तकको संख्या बढेको छ भने सामाजिक सञ्जालमार्फत उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्नेको संख्या पनि उत्तिकै रहेको छ।