ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म क्षेत्रमा प्रवेश गरेको दुई वर्ष बितिसक्दा पनि रागिनी खड्गीलाई दर्शकले मार्क गरेका छैनन्। गडफादर शोभित बस्नेतको ब्रान्ड उनको करिअरमा प्रितकर भइदिएन। आफ्नै बाबु राजेन्द्र खड्गीको ख्याती पनि करिअरमा उकास्न सदुपयोग गर्न सकिनन्। राम्रा व्यानरले पत्याएनन्। बल्ल – बल्ल पाएको ‘भेटी’, ‘मेरो जीवन साथी’जस्ता फिल्म असफल भए। त्यसैले स्टारपुत्री हुँदा पनि फिल्ममा जम्न निकै संघर्ष गर्नु परेको छ। तर रिलिजका क्रममा रहेको एक फिल्मले भने उनको करिअर उकास्ने आशा राखिएको छ। यसरी रागिनीको लागि फलदायी हुने आशा गरिएको फिल्म हो, ‘शीशा’। आरविके शरद निर्देशित यस फिल्मको रागिनी लिडिङ लेडी हुन्। फिल्म साउन २३ गते रिलिज हुँदैछ।
रमाइलो त के हो भने रियल लाइफमा फिल्म क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेकी रागिनीलाई रिल लाईफमा पनि सोही भूमिकामा देख्न पाइन्छ। ‘शीशा’मा उनलाई संघर्षरत मोडलको भूमिकामा देख्न सकिन्छ। निर्देशक शरदका अनुसार फिल्मको पात्र र रागिनीको यर्थाथ धेरै हदसम्म मेल खान्छ। वास्तविक जीवनसँग नजिक रहेको भूमिकाले उनको करिअरलाई कतिको फाइदा पुुग्नेछ, फिल्म रिलिजपछि नै थाहा हुनेछ।
प्रेमकथामा आधारित ‘शीशा’मा रागिनीसँगै जीवन लुईँटेल, उमा बेबी, निर्मल सेञ्चुरी, शान्ति गिरी लगाएतका कलाकारको अभिनय रहेको छ। भारतका चर्चित फुटबरल भाइचुङ भूटियाको फिल्ममा गेस्ट रोल रहेको छ। विस्तारै प्रमोशन बढाउँदै लगिएको यस फिल्मको एक गीत सार्वजनिक गरिएको छ। ‘जीन्दगी बग्ने पानी…’ बोलको गीतमा रागिनीले जीवनसँग जवानी साटेकी छिन्।