मोडल अफ द इयर खोज्न प्रतिष्पर्धा


Model-of-the-year-2014 (2)
ग्ल्यामर नेपाल, काठमाडौं । मोडलिङ पेशालाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाई विश्व बजारमा नेपाल र नेपालीको पहिचानलाई श्रीवृद्धि गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपाल आयोजनामा राजधानीमा ‘मोडल अफ द इयर २०१४’ हुने भएको छ । आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मोडलिङ पेशामा आबद्ध १६ देखि ३० वर्षसम्मका व्यावसायिक मोडलहरु बीच खुल्ला प्रतिष्पर्धा गर्ने जानकारी दिएको हो ।

‘प्रतियोगिताबाट प्रतिष्पर्धीहरुको पेशागत क्षमता, कार्यदक्षता र व्यावसायिकतामा थप प्रेरणा प्रदान गर्न मद्दत पुग्ने विश्वास हामीले लिएका छौं,’ संस्थाका प्रबन्ध निर्देशक सुवाससिंह ठकुरीले भने,‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका संस्कृति पहिचानहरुलाई विषयगत ढंगले परिचालन गरी नेपाल र नेपालीहरुको सान बढाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
Model-of-the-year-2014 (1)
आयोजकका अनुसार कार्यक्रमको पहिलो चरणमा विभिन्न क्षेत्रका व्यावसायिक मोडलहरुमध्ये उत्कृष्ठ ४०(२० पुरुष,२० महिला) प्रतिष्पर्धीहरुलाई तालिम चरणमा प्रवेश गराइनेछ । उक्त ४० प्रतियोगीहरुले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रस्तुतिका लागि तयार हुने दाबी आयोजकको छ । अडिसन आगामी साउन १७ गते हुनेछ । ‘अन्तर्राष्ट्रिय किसिमको कोरियोग्राफी, फोटोग्राफी, व्यक्तित्व विकास, फिटनेस कक्षाहरु, मार्केटिङ स्किलका कक्षाहरुलगायत देशका प्रमुख शहरहरुमा गरिने ‘फेसन रिभोलुसन टुर’ कार्यक्रमका आकर्षण हुनेछन् ।’ ठकुरीले भने ।

संस्थाका कार्यकारी प्रमुख रवि धमलाका अनुसार पन्ध्र दिनको आधारभूत तालिमपछि व्यवहारिक प्रशिक्षणका लागि पोखरा, हेटौडा, धरान, बनेपा र काठमाडौंलगायतका स्थानमा फेसन टुर गरिनेछ । प्रतियोगीहरुलाई तीनवटा थीममा अन्तर्राष्ट्रियस्तरको फोटोसुट गराइनेछ भने उत्कृष्ठ सहभागीलाई म्युजिक भिडियो, सर्ट फिल्म, विज्ञापन र स्तरीय फेसन सोहरुमा व्यावसायिक अवसर प्रदान गरिनेछ। असोज ४ गते राजधानीमा हुने फाइनल प्रतियोगिताको विजेताले एक लाख रुपैंयाँसहित मोडल एम्बेसेडर, निजी व्यावसायिक वेभसाइट, ल्यापटप, मोबाइल फोनलगायतको पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमको फोटोग्राफी राजभाइ सुवाल, कमल श्रेष्ठ, कविन्द्रमान शाक्य र क्याराम्रोडटकमले गर्नेछन् भने कोरियोग्राफी जयनसुब्बा मानन्धर र प्रशान्त ताम्राकारले गर्नेछन् । रोजिन शाक्य, सुवाससिंह ठकुरी, यतना पाण्डे र प्रमोद वंसलले कार्यक्रमको संयोजन गर्नेछन् ।

SUBSCRIBE 👉