अष्ट्रेलिया पुगेपछि नेपालीले गर्ने संघर्षमा आधारित फिल्म ‘सिड्नी’


अष्ट्रेलियाको सिड्नीमा आधारित कथावस्तुमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ। देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण हुने यो फिल्म ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुनेछ। फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने निर्माण पक्षले जानकारी दिएको छ। फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ। वैशाखदेखि छायांकन हुने फिल्मको जानकारी काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रम दीइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक श्रेष्ठले नेपालदेखि अष्ट्रेलियासम्मको कथावस्तुलाई फिल्ममा चित्रण गरिने बताए अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई फिल्मले प्रस्तुत गर्ने उनले जनाए

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोलाबहादुर आचार्य र भीमराज रसाइली छन्। युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गर्नेछन। एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने फिल्म स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए।

फिल्ममा सविन एक्सन भूमिकामा प्रस्तुत हुँदैछन्। कार्यक्रममा उनले भने, ‘मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर यसपटक केही फरक देख्न पाइनेछ। मैले निर्वाह गर्ने भूमिका पनि भिन्न लाग्न सक्छ ।’ रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन सेयर गर्न उनी उत्साहित देखिएकी छन्।

निर्देशक श्रेष्ठले यसअघि अष्ट्रेलियामा नेपालीले गर्ने संघर्षको कथावस्तुमा ‘डलर एयूडी’ निर्देशनको घोषणा गरेका थिए। उक्त फिल्मको पनि छायांकन चाँडै सुरु हुने उनले बताए। अष्ट्रेलियाबारेका यी दुई फिल्मपछि निर्देशक श्रेष्ठले नेपाली कथावस्तुमा एक एक्सन थ्रिलर फिल्म निर्देशन गर्ने बताएका छन्।

SUBSCRIBE 👉