‘फूलबारी’ ट्रेलर : एउटा परिवारको मर्मस्पर्शी कथा


रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ। ४ मिनेट ९ सेकेन्डको ट्रेलरमा विपिन कार्की र अरुणा कार्की अनस्क्रिन श्रीमान र श्रीमतीको भूमिकामा देखिएका छन्। एउटा सुखी परिवार असमझारीले कसरी उजाडिन्छ र दाम्पत्य जीवनमा प्रेम कति महत्वपूर्ण छ भन्ने सन्देश ट्रेलरले उजागर गर्न खोजेको छ। छोराबुहारीले वृद्ध बाबुआमालाई गर्ने अपहेलनाको मर्मस्पर्शी दुःखान्त छ।

यो फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ। फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फिल्ममा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत सुन्न सकिन्छ।

मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन्। यशोधा फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अमेरिकी छायांकार जोस हेरमको छायांकन प्रशंसनीय देखिन्छ।

फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राईको अभिनय छ।

फिल्म ‘फूलबारी’को ट्रेलर हेर्नुहोस्।

SUBSCRIBE 👉