ग्ल्यामर नेपाल, काठमाडौं । एकै दिनमा दुई वा सोभन्दा धेरै फिल्म जुध्नु सामान्य भइसकेको छ। सानो बजारमा एकसाथ धेरै फिल्म रिलिज हुँदा निर्माताको गोजीमा लगानी भित्र्ने सम्भावना निकै कम हुन्छ तर पनि निर्माता र वितरक सचेत भएको देखिँदैन। झन् अब त एउटै कलाकारका दुई फिल्म एकसाथ जुध्न थालेका छन्। त्यो पनि फिल्मको मुख्य कलाकारकै। यसले निर्मातालाई व्यावसायिक नोक्सान त पुराउँछ नै, कलाकारको स्टार भ्यालु पनि घटाउँछ। भदौ ६ र फागुन १ मा यस्तै हुने देखिएको । अनि मर्कामा परेका कलाकार हुन्, नम्रता श्रेष्ठ र विल्सन विक्रम राई।
‘ताण्डव’ र ‘सम्बोधन’ यो वर्षका प्रतिक्षित फिल्म हुन्। नम्रता दुवै फिल्मको लिडिङ लेडी हुन्। उनको करिअरमा दुवै फिल्मले इँटा थप्ने विश्वास गरिएको थियो। नम्रता पनि एक्साइटेड देखिन्थिन् तर दुवै फिल्म भदौ ६ गते रिलिज हुने पक्का भएपनि उनी चिन्तित बनेकी छिन्। तत्कालका लागि अर्को फिल्मलाई फाइदा पुग्छ भनेर निर्माण युनिटले प्रमोशनमा स्पेश नदिएपछि नम्रता संकटमा परेकी हुन्। त्यसैले यी फिल्मले उनको करिअरमा फाइदाभन्दा नोक्सान पुराउने अनुमान गरिएको छ।
नम्रताको जस्तै पीडा परेको छ विल्सन विक्रमलाई पनि। ‘अधकट्टी’ र ‘वान वे’का निर्माताबीच सहमती भएर मिति सरेन भने दुवै फिल्म फागुन १ मा रिलिज हुनेछन्। अपेक्षा गरिए अनुरुप उनका फिल्म हिट नभएकाले पनि ‘अधकट्टी’ र ‘वान वे’बाट धेरै आशा राखिएको थियो। तर एकैदिन रिलिज हुने पछि त्यो आशा यथार्थमा परिणत नहुने सम्भावना बढेको छ। सोही कारण विल्सन अहिलेदेखी नै चिन्तित हुन थालेका छन्। तर कलाकारले मात्र चिन्ता लिएर के गर्नु? निर्माताको ‘घैटोमा घाम’ नलागेपछि।


