फिल्म ‘रावायण’को गीतहरुमा भारतीय गायक/गायीकाको स्वर

निर्देशक सुदर्शन थापाको निर्माण भईरहेको फिल्म ‘रावायण’को तीन गीतहरुको रेकर्ड भारतमा गरिएको छ। शीर्ष गीतमा भारतीय गायक नकासा अजीजले स्वर भरेका छन्। फिल्मको रोमान्टिक गीतमा कुनाल गान्जावाला र आइटम गीतमा गायिका सोनु कक्करले स्वर दिएका छन्।


छायाँकन भईरहेको फिल्म ‘रावायण’को शीर्ष, रोमान्टिक र आइटम गरि तीन गीतहरुको रेकर्ड भारतमा गरिएको छ। शीर्ष गीतमा भारतीय गायक नकासा अजीजले स्वर दिएका छन्। नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका छन्।

त्यस्तै फिल्मको रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ। कुनालले बलिउड फिल्म ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाएका छन्।

त्यस्तै अर्को गीतमा गायिका सोनु कक्करको स्वर छ। सोनुले ‘रावायण’का लागि आइटम गीत गाएकी हुन्। सोनुले गाएका बलिउड फिलम ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ लोकप्रिय छन्।

तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ। संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर, वाद्यवादक हुन्।

भारतीय चर्चित संगीतकार कैलाश खेरको स्टुडियो कैलाश खेर स्टुडियोका संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियर निरज २० वर्ष बढी समयदेखि बलिउडमा संगीत क्षेत्रमा सक्रिय छन्। मुम्बई विश्वविद्यालयबाट पास आउट रहेका रेवनले बलिउडका चर्चित गायकगायिका र संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियरसँग काम गरिसकेका छन्।

उनले रेडियो मिर्ची म्यूजिक अवार्ड, ग्लोबल इण्डियन म्युजिक एकेडेमी अवार्ड(गीमा) र इण्डियन रेकर्डिङ आर्टस् अवार्ड(इरा) लगायतका अवार्ड जितेका छन्।

फिल्मका निर्देशक सुदर्शन थापाले नेपालमा संगीत तयार पारेर भारतमा गई गीत रेकर्ड गर्ने चलन भइरहँदा आफूले भने सबै काम भारतमा नै गरेको बताए। ‘अहिलेसम्म नेपालमै संगीतको सबै काम सकेर भारतमा गई गीत रेकर्ड गराउने चलन थियो। तर हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायकगायिकमार्फत गीत रेकर्ड गरेका हौं। जसले गर्दा संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ’, उनले भने।

फिल्ममा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाल लगायतको अभिनय छ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ। फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

SUBSCRIBE 👉