‘गाउँ आएको बाटो’: गाउँमा बाटो बनेपछि दयाहाङको जीवनमा आएको परिवर्तन


नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फिल्मको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट पारेको छ। बाबुछोराको स्नेही सम्बन्धबाट ट्रेलर सुरु हुन्छ। भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ। गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा फिल्मले उजागर पार्ने छ।

राई समुदायको कथावस्तुमा बनेको यो फिल्मलाइ दयाहाङले करिअरकै उत्कृष्ट मध्येको एक फिल्मको रुपमा लिएका छन्। अभिनेता दयाहाङ राईले विभिन्न फिल्म महोत्सवबाट प्राप्त प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए। यो फिल्मले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ।

‘नुमाफुङ’ बनाएर फरक धारका फिल्मका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो फिल्म हो। उनले बनाएको दोस्रो फिल्म ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन।

टोरन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्। सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन्।

SUBSCRIBE 👉