फिल्म निर्देशनमा आठ वर्षे सौगात


Saugat-Bista
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म निर्देशन गर्नु भनेको चानचुने कुरा होईन् । कलाकारलाई अभिनयको शैली सिकाउँदै उनीहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्नु निर्देशकको ठूलो चुनौति पनि हो । अभिनेता गजित विष्टका ८ वर्षे छोरा सौगात पनि यही चुनौतिलाई सामना गर्न फिल्म निर्देशनको मैदानमा उत्रिएका छन् । गजितसँगै उनका भाई गम्भीरले विगत ९ वर्षदेखि सञ्चालन गरिरहेको डान्स फिभर नामक डान्स एकेडेमीको व्यानरमा पहिलोपटक निर्माण हुन लागेको फिल्म ‘लभ यू बाबा’मा सौगातले पिता गजितसँगै अन्य कलाकारको ‘एक्सन’ र ‘कट’ गर्नेछन् । शुक्रबारदेखि सुटिङ हुने फिल्मको निर्देशन पूर्ण रुपमा उनले गरे सौगात विश्वकै सबैभन्दा कान्छा फिल्म निर्देशक बन्नेछन् ।

फिल्मबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दौरा सुरुवालमा सजिएका निर्देशक सौगातले फिल्ममा गरेको अभिनयसँगै निर्देशकको काम देखेर आफुलाई निर्देशन गर्ने जोश आएको बताए । पिता गजितको प्रेरणासँगै दिदी, काका गम्भीर र आमाको सल्लाहले फिल्म निर्देशन गर्न लागेको बताउने उनले फिल्मको ज्ञान र विषयबस्तु पनि बुझेको बताए । फिल्मका कास्टिङ डिरेक्टर शान्तिप्रियले आफुलाई गजितले छोराको कुरा गर्दा नपत्याए पनि सौगातको क्रियाकलापले आफु विश्वास गर्न बाध्य बनेको बताए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले सौगातले फिल्म बनाइसकेपछि उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा राख्न बोर्डले पनि सहयोग गर्ने बताए ।

फिल्म १० वर्षकी बालिका संगम विष्टको सेरोफेरोमा घुम्नेछ । संगम, सौगातकी दिदी हुन् । सम्झना पोखरेल निर्माता र रोशनी बज्राचार्य सहनिर्माता रहने फिल्ममा गजितका अलावा निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्माको मुख्य भूमिका रहनेछ भने नायिका अनु शाह र सञ्चारकर्मी सुब्रत आचार्य विशेष भूमिकामा देखिँदैछन् । फिल्ममा स्वरुपराज आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत, गम्भीर बिष्टको पटकथा, संवाद र नृत्य, गजित विष्टको कथा, चन्द्र पन्तको द्वन्द्व, प्रितम पाण्डेको सम्पादन र दिव्यराज सुवेदीको छायांकन हुनेछ ।

SUBSCRIBE 👉