सौगातले थाले एक्सन–कट


Love-U-Baba
ग्ल्यामर नेपाल, काठमाडौं । आठ वर्षे बालक सौगात विष्टले फिल्म ‘लभ यू बाबा’ को निर्देशन शुरु गरेका छन् । मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु–छोरीबिचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटिएर निर्माण गर्न लागिएको फिल्मको छायांकन गत शुक्रबारबाट शुरु भएको हो ।

सौगातले यो चलचित्र निर्देशन गरेपछि सम्भवतः उनी विश्वकै कान्छो निर्देशकका रुपमा चिनिनेछन् । यस अघि भारतका ९ वर्षे बालकले निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकका रुपमा आफ्नो नाम दर्ता गराइसकेका छन् । फिल्मले पुजाआजा गरेर शुक्रबारबाट छायाङ्कन प्रारम्भ गरेको हो । छायांकनको पहिलो सटक अभिनेता गजित विष्ट र बाल कलाकार संगम विष्टले दिएका थिए । संगम र सौगात गजितका सन्तान हुन् ।

फिल्ममा निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, बसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेललगायतको अभिनय रहेको छ । गजितकै कथा रहेको फिल्ममा पटकथा तथा कोरियोग्राफी गम्भिर विष्टको छ । दीपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाको गीत रहेको छ ।

२५ दिनमा सुटिङ सकिने फिल्ममा पत्रकार सुब्रत आचार्य र नायिका अनु अतिथि भूमिकामा छन् । डान्स फिभरको व्यानरमा निर्मित फिल्ममा सम्झना पोखरेल निर्माता तथा रोशनी बज्राचार्य सह–निर्माताका रुपमा रहेका छन् । फिल्म मंसीरको अन्तिम साता रिलिज हुनेछ ।

SUBSCRIBE 👉