हराउँदै गएको मितेरी साइनो: ‘मितज्यू’ टिजरले उठायो पुरानो संस्कार

‘मितज्यू’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई र सौगात मल्लको फिल्मले मितेरी साइनोको कथा प्रस्तुत गर्दै जेठ ८ मा रिलिज हुँदैछ।


आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ। करिब २ मिनेट लामो टिजरले हराउँदै गएको ‘मितेरी’ संस्कारलाई केन्द्रमा राख्दै भावनात्मक कथा संकेत गरेको छ।

टिजरमा दयाहाङ राई र सौगात मल्ल ग्रामीण परिवेशमा गाडी चलाएर जीविका चलाउने पात्रका रूपमा देखिन्छन्। एउटी केटीका कारण उनीहरूबीच झगडा सुरु हुन्छ, तर पछि झगडालाई रोक्न ‘मित’ लगाइन्छ—जसले कथामा नयाँ मोड ल्याउँछ।

निर्देशकले पुरानो पुस्तामा प्रचलित ‘मितेरी’ सम्बन्धलाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरेका छन्। टिजरले यही सांस्कृतिक पाटोलाई आधुनिक कथासँग मिसाएर प्रस्तुत गर्ने संकेत दिन्छ।

फिल्ममा दयाहाङ राई र सौगात मल्लका साथै तेरिया फौजा मगर, खबपु, शिशिर वाङ्देललगायत कलाकार देखिएका छन्। विशेष कुरा, यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यू गरेकी छन्।

अनिल बुढा मगर को निर्देशनमा बनेको ‘मितज्यू’ जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। निर्माता जनक घर्ती मगर हुन्।

प्राविधिक पक्षमा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको छ भने मुख्य सहायक निर्देशक फिरोज खड्का हुन्। फिल्मका गीतमा श्रीकृष्ण बम मल्ल को संगीत रहेको छ, जसमा मेलिना राई र लक्ष्मी मल्लले स्वर दिएका छन्।

फिल्मलाई RR Films ले वितरण गर्नेछ भने डिजिटल अधिकार OSR Digital ले खरिद गरेको छ।

ग्रामीण कथा, सांस्कृतिक सम्बन्ध र लोकप्रिय कलाकारको संयोजनले ‘मितज्यू’ यस वर्षको प्रतिक्षित फिल्ममध्ये एक बन्ने संकेत देखिएको छ। निर्माण टिम पनि फिल्मप्रति निकै उत्साहित देखिएको छ।


यो पनि पढ्नुहोस्: अशोक र सृष्टिको रोमान्टिक मुड, अन्जु पन्तको स्वरमा फिल्म ‘कुम्भ’को गीत


SUBSCRIBE 👉