ग्ल्यामर नेपाल, काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर लायन्स क्लब अफ काठमाडौं डायमण्डले शुक्रबार राजधानीमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने नौजना नारीहरुलाई ‘नारी सम्मान २०७१’बाट सम्मानित गरेको छ । लायन्सले साहित्य, चलचित्र, सञ्चार, स्वास्थ्य, शिक्षा, कलाश्रृंगार, खेलकुद, समाजसेवा र संगीततर्फ महत्वपूर्ण योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा फिल्म क्षेत्रबाट अभिनेत्री करिश्मा मानन्धर, संगीत तर्फबाट गायिका देविका बन्दना, खेलाडीतर्फ संगीना वैद्य, सञ्चारतर्फबाट सञ्चारकर्मी अनिता विन्दु, शिक्षातर्फबाट शिक्षाविद दीपिका रिमाल, सौन्दर्यबाट सौन्दर्यविद रुवी राणा, साहित्यतर्फ मोमिला जोशी, समाजसेवातर्फबाट समाजसेवी दुर्गा घिमिरे र स्वास्थ्यतर्फबाट स्वास्थ्यसेवी डा. चन्दा कार्की रहेका छन् । उनीहरुलाई मन्त्री थापाले सम्मानपत्र र माला लगाइदिएर सम्मान गरेका हुन् ।
मन्त्री थापाले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका नारीहरुलाई सम्झेर सम्मान गर्नु आफैमा गौरवपूर्ण कुरा भएको बताए । लायन्स क्लब अफ काठमाण्डूका अध्यक्ष गोपालप्रसाद पौड्यालले सम्मानले आगामी दिनमा सम्मानित व्यक्तिहरुलाई अझ बढी योगदान दिन सक्ने प्रेरणा प्राप्त हुने आशा व्यक्त गरे ।