
ग्ल्यामर नेपाल, काठमाडौं । बलिउडका फिल्ममा खेलेर फिल्म ‘मसाल’बाट नेपाली रजतपटमा डेब्यु गरेका चर्चित अभिनेता सुनिल थापा ‘मसाल’ पछि फिल्म ‘चिनो’ बाट ‘राते काइँला’का रुपमा चिनिए । यिनै ‘राते काइँला’ पुनः एकपटक बलिउडमा आफ्नो अभिनय छाप छोड्न सेप्टेम्बर ५ को पर्खाइमा छन् । बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जयलिला भन्सालीले निर्माण गरेको फिल्म ‘मेरी कोम’मा बलिउड देशी गर्ल प्रियंका चोपडाको बक्सिङ गुरुका रुपमा अभिनय गरेका सुनिल त्यही फिल्मको ट्रेलर रिलिजसँगै पुनः चर्चित बनेका छन् ।
यिनै बक्सिङ गुरु बुधबार फिल्मकर्मी र सञ्चारकर्मीमाझ ‘मेरी कोम’ अनुभव सुनाइरहँदा पटक–पटक आफ्नो गला अवरुद्ध पारिरहे । ‘फेरी बलिउडमा पुगेर यस्तो दिन आउँछ भन्ने कहिल्यै सोचेको थिईन्, मेरा लागि ‘मेरी कोम’ पाउनु ठूलो कुरा थिएन, जति ठूलो लाग्यो आज तपाईहरुले मेरा लागि गरेको यस्तो सम्मान,’ नेपाल चलचित्र प्राविधिक संघ, श्रीराम बालाजी फिल्मस् र मौरी इन्टरटेन्मेन्टले सुनिलको सम्मानमा आयोजना गरेको कार्यक्रममा आँखाबाट आँशु निकाल्दै उनले भने,‘यो मेरो मात्र नभई समग्र नेपाली फिल्म उद्योगको सफलता हो, ३९ वर्षदेखि मैले फिल्मका लागि गरेका कामहरु बिस्तारै सार्थक बन्दै गएका छन् । त्यसको लागि धैर्यताको जरुरत पर्दछ ।’
उनले आफ्नो जीवनमा यति धेरै भावुक क्षण आउला भनेर कहिल्यै पनि नसोचेको बताए । ‘मेरो जीवनमा यस्तो इमोशनल क्षण आउला भनेर मैले सोचेको थिइँन् । मलाई आज एक पूर्ण कलाकार भएको महसुस भइरहेको छ,’उनी भन्दैथिए, ‘मलाई यहाँ मन नपराउने पनि धेरै होलान् । तर, आजसम्म मैले कसैलाई घृणा भने गरेको छैन । मलाई जीवनमा ‘हुन्न’ भन्न कहिल्यै पनि आएन ।’ विगतका उतारचढावपूर्ण दिनको सम्झना गर्दै सुनिलले आफुले कहिल्यै हरेश नखाई सुनौला दिनको प्रतिक्षा गरेको बताएका थिए । उनले आफुलाई बलिउडमा मात्र नभई हलिउडमा पनि उभ्याउन चाहेको खुलाए । ‘म बलिउडमा मात्र होइन, हलिउडमा पनि देखाउन चाहन्छु कि, नेपालमा पनि निक्कै प्रतिभा भएका कलाकार छन् भनेर,’ आफु मुम्बईबाट नेपाल आउँदा आफ्ना साथीहरुले गाली गरेको सम्झँदै उनले अगाडि भने,‘मेरो लक्ष्य भनेको अब हलिउड हो, ओस्कार अवार्डमा दौरा सुरुवाल लगाएर जान चाहन्छु ।’
उनले भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी विथ कपिल’को शोको घटना पनि सम्झिए । उक्त शोमा फिल्मका निर्देशक र नायिकालाई निम्त्याइएको थियो । तर सुनिल र फिल्ममा प्रियंकाका पतिको भूमिकामा अभिनय गरेका अर्का कलाकारलाई भने शोको अन्तिम समयमा देखाइने भनिएको रहेछ । यी दुई कलाकारलाई दर्शकदीर्घाबाट स्टेजमा आउनका लागि तयार पारिएको रहेछ । ‘तर म पनि नेपालको निक्कै नाम चलेको कलाकार हुँ, मेरो पनि प्रतिष्ठा छ, यदि सोझै अगाडिबाट स्टेजमा लगिन्छ र कुराकानी गर्ने हो भने म जान्छु, नत्र जान्न भनें,’ उनले भने ।
‘मेरी कोम’सम्मको यात्राको स्मरण गर्दै थापाले त्यहाँ अभिनय गर्न आफुले अडिसन दिनुपरेको बताए । ‘म त्यहाँ पुगेपछि सुरुवातमा वर्कशप गरियो । नायिका प्रियंका चोपडा पनि त्यहाँ निरन्तर सहभागी हुन्थिन् । हामीले दिनको ४ घन्टासम्म वर्कशप गर्नुपथ्र्यो,’उनले भने,‘दैनिक १२ घन्टासम्म हामीले निरन्तर सुटिङ ग¥यौं । बलिउडमा मैले यो सिनेमासँगै नयाँ अनुभव गर्ने मौका पाएँ । फिल्मको गीत सार्वजनिक कार्यक्रममा नायिका प्रियंका चोपडाले नेपाली कलाकार सुनील थापा निक्कै प्रतिभावान भन्दा मलाई नेपाली भएकोमा गर्व लाग्यो । यो मेरो मात्र होइन, नेपाली फिल्म नगरी र सबै कलाकारको सफलता हो ।’
कार्यक्रममा नायिका करिश्मा मानन्धर, गौरी मल्ल, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, कलाकार विल्सनविक्रम राई, गीतकार विकास राणा, कलाकार संयम पुरी, वितरक प्रदीप उदय, कलाकार यूवराज लामा, चलचित्र संघका अध्यक्ष नकिम उद्धिन, हल व्यवसायी मोहन सरार्फलगायतले थापाका बारेमा एकै लाइनमा बोलेका थिए ।

