“सिनेमा लाइन सेफ छैन” – नायिका / निर्मात्री शुभेच्छा थापा


suvekshya-thapaरेस्टुरेन्टमा नाच्दानाच्दै कसरी हिरोइन बन्नुभयो ?
– म डान्सरबाट सीधै हिरोइन भएको होइन। फिल्ममा काम गर्ने बेला म रंगमञ्चको कलाकार भइसकेको थिएँ तर साँचो कुरा के पनि हो भने म त्योभन्दा पहिले रेस्टुरेन्टमा नाच्थे। त्यतिबेला म जम्मा १२ वर्षकी थिएँ। त्यहीबाट आफ्नो कलायात्रा सुरु गरेँ र अहिले शुभेच्छा थापा भएर चिनिएकी छु। त्यसैले ‘रेस्टुरेन्टमा नाचेकी हुँ’ भन्दा मलाई गर्व लाग्छ।

त्यति कलिलै उमेर रेस्टुरेन्टमा नाच्नुपर्ने बाध्यता के थियो ?
– म निम्नवर्गीय परिवारमा जन्मिएकी हुँ। आर्थिक रूपमा घरमा निकै समस्या थियो। मेरी आमा पनि असाध्यै संघर्ष गर्नुहुन्थ्यो। खासमा आमाकै दुःख देख्न नसकेर म रेस्टुरेन्ट पुगेकी थिएँ। ती पलहरू जिन्दगीकै सबैभन्दा कठिन थिए।

तपाईंले अहिलेको आफ्नो पतिलाई पनि रेस्टुरेन्टमै भेट्नुभएको थियो, होइन ?
– हो। अझ त्यो रेस्टुररेन्ट त उहाँकै थियो। सायद उहाँले म नाचेको देख्न नसकेर विवाह गर्नुभयो। म त्यतिबेला १८ वर्ष पुग्दै थिएँ। त्यो बेलादेखि अहिलेसम्म मलाई माया दिइरहनुभएको छ। निकै समझदारीका साथ हाम्रो दाम्पत्य जीवन बढिरहेको छ। हाम्री छोरी पनि कलेज पढ्ने भइसकिन्। मलाई हिरोइन बनाउन पनि उहाँको ठूलो भूमिका छ। त्यसैले म उहाँलाई भगवान् मान्छु।

१८ वर्षमा विवाह गर्नुभएछ। अहिले छोरी कलेज पढ्दै छिन् भन्नुभयो। मलाई तपाईको उमेर कति हो जान्न मन लाग्यो ?
– तपाईंलाई कति भएँ हुँला जस्तो लाग्छ ? खै म त भर्खर १६ वर्षकी तरुनी जस्तो देख्दैछु। (लामो हाँसो) धन्यवाद। खास कुराचाहिँ के हो भने कलाकारलाई भगवान्ले सधैं जवान देखिने आशीर्वाद दिएका हुन्छन् रे। सायद मैले पनि त्यो आशीर्वाद पाएछु।

कुरा निकै घुमाउनुभयो । यसको मतलव तपाईंलाई आफ्नो वास्तविक उमेर भन्न डर लाग्छ ?
– त्यस्तो होइन। तर कति कुरा नखोल्दा नै राम्रो हुन्छ । केटीको सवालमा उमेर पनि त्यस्तै हो।

आमाछोरी बाटोमा हिँड्दा मान्छेहरूले के भन्छन् ?
– आमा-छोरी भनेर त कसैले पत्याउँदैनन्। सबैले दिदीबहिनी भन्छन्। म पनि कसैलाई ‘मेरी छोरी हुन्’ भनेर चिनाउँदिन।

हिरोइन भएपछि विभिन्न केटाहरूसँग नाम जोडिरहेको हुन्छ। पछिल्लो समय तपाई र नायक सविन श्रेष्ठको सम्बन्धले चर्चा पाइरहेको छ। यस्तो बेला श्रीमान् जति नै समझदार भए पनि झगडा पर्छ होला नि ?
– श्रीमान्-श्रीमतीको सम्बन्ध भित्री मनदेखिको विश्वास हो। उहाँले मलाई निकै ‘ट्रस्ट’ गर्नुहुन्छ। म त्यो विश्वासलाई तोड्दिनँ र उहाँ पनि यस्तो हल्लाको पछाडि लाग्नुहुन्न।

सविनसँगको सम्बन्ध चाहिँ कस्तो हो नि ?
-( हाँस्दै) साँच्चै भन्नुहुन्छ भने मलाई सविनसँग नाम जोडिएको थाहा थिएन। तपाइर्ंले भनेपछि मात्र थाहा पाएँ। खासमा त्यस्तो नाम जोड्नै पर्ने खालको विशेष सम्बन्ध केही होइन। सविन मलाई निकै राम्रो लाग्छ, ऊ नजिकको साथी पनि हो। मैले निर्माण गरेको ‘मिस नेपाल’ फिल्मको हिरो पनि। फेरि यस्तो रैछ क्या, फिल्म लाइन भनेको ग्ल्यामर वल्र्ड हो। यहाँ हाम्रो नाम जोडियो भन्दा दर्शकलाई राम्रो लाग्दो रहेछ। दर्शकले पनि ‘तपाईंहरू’को जोडी राम्रो छ भन्नुहुन्छ। सायद यही कुराले त्यस्तो हल्ला भएको होला। असारमा हिलोमा खेल्दै हामीले गरेको फोटोसुटले पनि धेरै काम गरेको हुन सक्छ। तर म सविनजीसँग मात्र होइन, अन्य नायकसँग पनि निकै खुल्न सक्छु।

हल्ला त कतिसम्म छ भने पहिलीकी गर्लफ्रेन्ड सँग ब्रेक अप भएर सविनलाई लागेको घाउमा तपाईं मल्हम पट्टि लगाउँदै हुनुहुन्छ रे ?
– यत्ति चाहिँ होइन के ! सविनको बे्रकअप भयो भन्दैमा मैले कसरी मलम लगाउनु नि ? एउटा साथीको नाताले उसको ब्रेकअप भएको खबरले दुःखी भएकी थिएँ।

साँच्चै सविनजी त तपाईंकी छोरीकै उमेरको हुनुहुन्छ क्यारे, हैन ?
बा बा ! त्यस्तो त नभन्नु न । (ठूलो हाँसो)। ‘मिस नेपाल’मा मेरो अपोजिटमा खेलेको हिरोलाई छोरीसँग दाँज्न त भएन नि।

फिल्मको नाम अनुसार त हिरोइन तपाईंलाईभन्दा छोरीलाई राख्दा पो राम्रो हुने रहेछ नि ?
– हो, मैले पनि खेलाउन खोजेको थिएँ। उसले खेल्छु पनि भनेकी थिई तर सुटिङ हुने बेला ‘क्यामेराको अगाडि अभिनय गर्न डर लाग्यो’ भनिन्। मैले पनि कर गरिनँ।

तपाईंले हिरोइन नै भएर फिल्म खेल्न थालेको एक दशक बितिसक्यो तर अझसम्म मार्क हुनुभएको छैन। किन होला ?
– तपाईंले भनेको कुरा सही हो। मलाई म्याच हुने रोल नपाएर पनि दर्शकको नजरमा ‘मार्क’ नभएको हुनसक्छ। वा दर्शकले चाहेअनुसारको क्यारेक्टरमा नदेखिएर पनि सोचे जति सफल हुन सकेकी छैन। तर मेरो आगामी चलचित्र ‘मिस नेपाल’ले दर्शकको अपेक्षा पूरा गर्छ।

चलचित्रको व्यापार निकै खस्किरहेको बेला आफैंले फिल्म निर्माण गर्नुभएको छ। लगानी रिकभर हुनेमा कतिको च्यालेन्ज महसुस गर्नुभएको छ ?
– भयंकर च्यालेन्ज छ। एकदुई लाखको कुरा होइन, लाखौ लाखको कुरा आउँछ। एकै दिन ४-५ वटा फिल्म रिलिज भइरहेका छन्। यस्तो बेला फिल्मले व्यापार गर्ने सम्भावना ज्यादै न्यून हुन्छ। सोही कारणले ‘मिस नेपाल’ रिलिज भएपछि १५ वर्षसम्म कुनै फिल्म बनाउँदिन्।

फिल्म क्षेत्रमा प्रवेश गरेको हिसाबले तपाईं निकै सिनियर हिरोइन हुनुहुन्छ। निर्माता/निर्देशकलाई नरिझाई फिल्म हिरोइन भने फिल्म पाउँदैनन् भन्ने सुनिन्छ। सत्य कुरा के हो ?
– यो निकै सत्य कुरा हो । निर्माता / निर्देशकले ‘५०/६० लाख खर्च लगानी गरेपछि के रिटर्न पाउछु’ त भनेर खोज्दा रहेछन् । प्रतिष्ठित भनिएका निर्माता/निर्देशकले पनि सीधै अफर गर्छन्।

सीधै भन्नाले ?
– जस्तो कि ‘मेरो गर्ल फ्रेन्ड बन्नुपर्छ’ भन्ने धेरै हुन्छन्। अब उनीहरूको सिकार हुने कि नहुने आफूमा भर पर्ने कुरा हो। मैले पनि यस्ता धेरै प्रस्ताव फेस गरेकी छु। तर कसैले सिफारिस गरेर नभई सानो-सानो खेलेर हिरोइन भएकी हुँ। त्यसैले मैले कसैलाई रिझाउनु परेको छैन।

यस्तो अवस्थामा भोलि छोरीले हिरोइन बनाउनुहुन्छ त ?
– उसलाई इच्छा भयो भने म अवरोध गर्दिनँ तर म आफैंचाहिँ ‘हिरोइन बन्’ भन्दिनँ। जति आदर्शको कुरा गरे पनि सिनेमा लाइन सेफ छैन। तीतो भए पनि सत्य यही हो।

अन्त्यमा, तपाईंको चलचित्र ‘मिस नेपाल’को बारेमा केही भनिदिनुस् न।
– यो चलचित्र मेरो ‘डि्रम प्रोजेक्ट’ हो। जुन विशुद्ध नारी कथामा आधारित छ। शीर्षक अनुसार मिस नेपाल के हो त भन्ने देखाउने प्रयास गरेका छौं। फिल्म हेर्दा दर्शकले निकै इन्जोय गर्नुहुन्छ।
– प्रस्तुतिः गोकर्ण गौतम

SUBSCRIBE 👉