‘अझै दुई-तीन वर्ष मेरै रजाइँ हुन्छ’ – नायिका सुमिना घिमिरे


sumina-ghimireथोरै समयमा धेरै सफलता पाएकी नायिका हुन्, सुमिना घिमिरे। तर, पछिल्लो समय एकपछि अर्को विवादमा उनी फसिरहेकी छिन्। पत्रकारलाई दुई टुक्रा पार्ने धम्की दिएको घटना सेलाउन नपाउँदै उनी फेरि अर्को विवादमा तानिएकी छिन्। सिनेमा को प्रोमोसनमा साथ नदिएको र ढाँटेर हैरान बनाएको भन्दै सुमिनाको मुख्य भूमिका रहेको चलचित्र ‘लभ फरेभर’ युनिटले उनलाई प्रोमोसन गर्ने कामबाट पूर्ण रूपमा आउट गरिदिएको छ र यतिबेला उनको करिअर पतनोन्मुख रहेको विश्लेषण हुन थालेको छ। यही सन्दर्भमा नायिका सुमिनासँग हाम्रा सहकर्मी गोकर्ण गौतमले गर्नुभएको कुराकानी:

तपाईलाई आलोचनात्मक प्रश्न सोध्न पनि डराउनुपर्ने होला। नत्र ज्यान मार्ने धम्की आउन बेर लाग्दैन, हैन ?
-(हाँस्दै) कसैलाई धम्काउनु वा गाली गर्ने रहर हुँदैन। जब आफू माथि केही अन्याय भएको महसुस हुन्छ, तब धम्काउनुपर्ने बाध्यता हुँदोरहेछ। मलाई पनि त्यस्तै भएको हो। तर यसको अर्थ म आलोचना सहनै नसक्ने खालको मान्छे भन्ने चाहिँ होइन।

तर तपाई जस्ता सेलिबेट्रीले त मिडिया वा पब्लिकले गरेको आलोचनालाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने मान्यता छ। किनभने आलोचनाबाटै आफ्ना गल्ती सुर्धाने मौका पाइन्छ नि, हैन ?
– त्यो त हो तर त्यसको पनि एउटा सीमा हुन्छ। म एउटा हिरोइनसँगै कसैकी छोरी वा बहिनी पनि हुँ। जब मिडियामा आएको कुराले हप्तौं दिनसम्म परिवारसँग बोलचाल बन्द हुन्छ। परिवारले सिनेमा लाइन नै छोड्न दबाब दिन्छ भने तपाईं के गर्नुहुन्छ ? यस्तो अवस्थामा पनि मैले उहाँलाई (पत्रकार विजय आवाज)लाई फोन गरेको थिएँ तर उहाँले उठाउनु भएन। त्यसैले त्यस्तो बोल्न म बाध्य भएँ।

पत्रकारलाई धम्काउनु जायज थियो भन्ने लागेको भए किन माफी मागेको त ?
-हैन, माफी माग्दा नै सहज हुन्छ जस्तो लाग्यो।

लौ त्यो कुरा छोडिदिउँ, नयाँ कुरा गरौं। ‘लभ फरेभर’ युनिटसँगको खास लफडाचाहिँ के हो ? उनीहरूले त तपाईंलाई पब्लिसिटीबाट आउट गरिदिए।
– पहिलो कुरा त एग्रिमेंट गर्ने बेलामा पब्लिसिटीमा सहभागी हुनुपर्छ भन्ने खास कुरा केही भएको थिएन्। यद्यपि मैले पब्लिसिटीमा साथ दिँदै थिएँ। तर बुझ्नुपर्ने कुरा के हो भने म पनि बिजी छु। फिल्म, भिडियो, विज्ञापनबाट अफर आइरहेको हुन्छ। त्यो मैले गर्नैपर्छ। यति हुँदाहुँदै पनि म प्रोमोसनमा खटेकै थिएँ। बिहानै ६ बजेदेखि उठेर भए पनि धरानका सबै लोकल एफएममा अन्तर्वार्ता दिन भ्याएँ। यसको लागि मैले विकास बोर्डको आठ बजेको कार्यक्रम नै छोडेको थिएँ। तर उहाँले निर्देशक (शंकर आचार्य) मलाई ‘पोखरामा पब्लिसिटीमा हिँड्नुपर्छ’ भन्ने जानकारी नै गराउनु भएको थिएन। एक्कासि मलाई ‘भोलि दमक भ्याएर पोखरा जानुपर्छ। गजित विष्टको टाइम लिइसकेका छौं’ भन्नुभयो तर मैले ‘भीमदत्त’ भन्ने फिल्मलाई टाइम दिइसकेकोले ‘पोखरा जान्न भ्याउदिनँ’ भनिदिएँ र, काठमाडौं फर्के, तब उहाँले पत्रकार सम्मेलन गरेर अनेकथरी कुरा गर्नुभएछ।

तर लिड हिरोइन भएको नाताले फिल्मको प्रोमोसनमा पूर्णरूपमा सहभागी हुनु तपाईंको दायित्व होइन र ?
-(जगिँदै) मैले समय नदिएको हो ? दुनियाँ प्रोड्युसरसँग नाम जोडिँदा पनि सुमिना घिमिरे पहिले पनि प्रोमोसनमा खटेकै हो नि। तर नभ्याएपछि के गर्ने ?

टाइम म्यानेज गर्नुपर्ने त तपाईंको दायित्व हो नि ?
– भ्याएसम्म पो म्यानेज गर्ने नभ्याए के गर्ने ?

धोका दिएको भन्दै निर्माण पक्षले तपाईंलाई प्रोमोसनबाट आउट गरेको छ। अब कसरी कुरा मिलाउनु हुन्छ ?
-(जगिँदै) कस्तो मिलाउने नि ? उहाँहरूले ‘सुमिनाजी हामीले त्यस्तो गर्नु हुँदैन्थ्यो। सरी’ भनेर एक्सक्युज गर्नुभयो भने ठीकै छ, म पब्लिसिटीमा हिँड्न तयार छु। नत्र ‘लभ फरेभर’को बारेमा एक शब्द बोल्दिनँ।

यस्तो जिद्दी लिँदा त समग्र करिअरमै असर पर्दैन ?
-(ठूलो स्वरमा) पर्दैन, पर्दैन। किनभने म काममा विश्वास गर्छु। काम राम्रो गरेपछि कसैको हातपाउ मोल्नुपर्दैन। अहिलेसम्म काम मलाई खोज्दै आएको छ। मैले काम खोज्दै हिँड्नुपरेको छैन। त्यसैले म कसैसँग पनि डराउँदिनँ। हेर्नुस्, जसले जति खुट्टा ताने पनि अबको दुई-तीन वर्ष कसैले केही गर्न सक्दैन। मेरै रजाइँ हुन्छ। त्योभन्दा बढी गर्नु पनि छैन।

काम राम्रो गर्छु त भन्नुभयो तर तीन वर्षको बीचमा तपाईं अभिनीत आधा दर्जन बढी सिनेमा रिलिज भएँ, एउटा पनि सफल भएन नि ?
– मैले ‘दुलही’ फिल्मबाट चारवटा अवार्ड पाएँ। तर यो कुरा कसैले लेखेन। अर्को कुरा, फिल्म नचले पनि काम पाइरहनु राम्रो कुरा होइन र ? तर मभित्रको क्षमताको बारेमा कसैले लेखेन। खाली कमजोरीमात्र खोज्ने। अनि विवाद त भइहाल्छ नि।

तपाईंले काम गरेका अन्य निर्माण युनिट पनि तपाईं ‘अनप्रोफेसनल’ व्यवहार देखाउनुहुन्छ भन्ने गुनासो गर्छन् ?
-मलाई जसले जस्तो व्यवहार गर्छ, म पनि उसलाई त्यस्तै व्यवहार गर्छु। अरू मलाई थाहा भएन।

तपाईंले छोटो समयमा धेरै फिल्म पाउनुभयो। संघर्ष पनि गर्नुपरेन। त्यहीँ भएर तपाईंको भुइँमा खुट्टा नभएको आरोप छ नि ?
-(जंगिँदै) सबैलाई त्यही डाहा हो । सबै मेरो सफलतादेखि आत्तिएका छन्। तर म जति सफल भएकी छु, त्यो सबै मेरो संघर्षले सम्भव भएको हो। मैले जे गरेँ, ठीक गरेँ। कुनै पनि गिल्टी फिल छैन।

SUBSCRIBE 👉