श्रद्धा प्रसाईंको ‘डियर काव्या’मा नयाँ जोडी उपासना सिंह ठकुरी र बिक्की समशेर

उपासना सिंह ठकुरी र डेब्यु अभिनेता बिक्की समशेर खड्कालाई मुख्य भूमिकामा प्रस्तुत गर्दै नयाँ नेपाली चलचित्र ‘डियर काव्या’ घोषणा गरिएको छ। श्रद्धा प्रसाईं निर्देशित फिल्मको छायांकन मंसिरबाट सुरु गर्ने तयारी छ।

Upasana Singh Thakuri pairs up with debut actor Bikky Samsher Khadka for the movie ‘Dear Kavya’

गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’ को औपचारिक घोषणा गरिएको छ। एक कार्यक्रमका बीच ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको घोषणा गरेको हो।

चलचित्रमा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन्। ‘डियर काव्या’ बिक्कीको डेब्यु चलचित्र हो। थिएटरका विद्यार्थीसमेत रहेका उनी यही चलचित्रमार्फत ठूलो पर्दामा प्रवेश गर्दैछन्।

सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरमा बिक्कीको घाँटीमा रहेको गलबन्दी तान्दै उपासनाले उनलाई आफूतर्फ नजिक ल्याएको दृश्य देखिन्छ। पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुललाई समेटिएको छ।

चलचित्रको निर्देशन श्रद्धा प्रसाईं ले गर्नेछिन्। यो उनको दोस्रो निर्देशकीय चलचित्र हुनेछ। यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ।

निर्माण पक्षका अनुसार ‘डियर काव्या’को छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी छ। चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगर लगायतका कलाकारको पनि अभिनय रहनेछ।

चलचित्रका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन्। दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माताका रूपमा रहेका छन् भने अर्जुन पौडेल लाइन प्रोड्युसर हुन्।

चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गर्नेछन्। मेकअपको जिम्मेवारी प्रिया कार्की ले सम्हाल्नेछिन् भने चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं मिडिया कोअर्डिनेटर रहेका छन्।

घोषणा कार्यक्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरिन्। उनले ‘डियर काव्या’ आफ्नो दोस्रो निर्देशकीय चलचित्र भएको उल्लेख गर्दै फिल्मका लागि टिमले भरपूर मेहनत गर्ने बताइन्।

कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा चलचित्र क्षेत्रमा आफ्नो नयाँ यात्रा सुरु हुन लागेको बताइन्। चलचित्र निर्माण आफ्ना लागि नयाँ अनुभव हुने उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने बताइन्।

डेब्यु अभिनेता बिक्की समशेर खड्काले पहिलो चलचित्रका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे। उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उनीहरूकै विश्वासका कारण चलचित्रमा जोडिएको बताए।

अभिनेत्री उपासना सिंह ठकुरीले पनि आफूलाई ‘डियर काव्या’का लागि छनोट गरेकोमा निर्माण टिमलाई धन्यवाद दिइन्। विशेषगरी दिया मास्केप्रति आभार व्यक्त गर्दै उनले पहिलोपटक महिला निर्देशकसँग काम गर्न लागेकोमा उत्साहित रहेको बताइन्।

निर्माण पक्षले चलचित्रको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।