
प्रदर्शनको सुरुवाती दुई दिन अपेक्षित दर्शक नपाएको फिल्म ‘पार्वती’ले तेस्रो दिनदेखि घरेलु बक्स अफिसमा उल्लेख्य गति लिएको छ। नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्मले सकारात्मक ‘माउथ पब्लिसिटी’सँगै दर्शकको साथ बढेपछि देशभर शो संख्या पनि उल्लेख्य रूपमा विस्तार गरेको छ।
पहिलो र दोस्रो दिन न्यून दर्शक उपस्थिति तथा रसुवामा गएको भीषण बाढीपहिरोको असरका कारण फिल्मको व्यापार प्रभावित भएको थियो। तर तेस्रो दिनदेखि दर्शकको प्रतिक्रिया बलियो बन्दै गएपछि ‘पार्वती’को व्यापारले नयाँ गति समातेको निर्माण पक्षको भनाइ छ।
सुरुवातमा न्यून शो पाएको फिल्मले दर्शकको चाप बढेसँगै हाल देशभरका हलमा ११० भन्दा बढी शो पाउन सफल भएको छ। भारतीय बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ले कमजोर समीक्षा र खस्किँदो व्यापार सामना गरिरहेका बेला त्यसको प्रभावसमेत ‘पार्वती’का लागि फाइदाजनक बनेको देखिएको छ।
फिल्मको केन्द्रमा अटिजम प्रभावित दिदीप्रति भाइले देखाएको गहिरो प्रेम र त्यससँग जोडिएको पारिवारिक सङ्घर्ष छ। यही भावनात्मक कथावस्तुले दर्शकसँग बलियो सम्बन्ध बनाउन सफल भएको बताइएको छ।

हलबाट बाहिरिने क्रममा दर्शक भावुक बनेका प्रतिक्रियाहरूले पनि फिल्मको कथाले प्रभाव छाडिरहेको संकेत गर्छन्। सुरुवाती चरणमा शो घट्ने अवस्था बने पनि दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले व्यापारमा अपेक्षाभन्दा राम्रो उत्साह थपेको निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले बताएकी छन्।
फिल्मको प्रचार र दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि अहिले कलाकारसहित निर्माण टोली पश्चिम नेपाल पुगेको छ। टोलीले कैलाली, कञ्चनपुरलगायत क्षेत्रका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ। निर्माण पक्षका अनुसार ती स्थानमा पनि फिल्मले उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।
हरिहर अधिकारीको निर्माणमा बनेको ‘पार्वती’मा नीता ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय छ।
सुरुवाती कमजोर व्यापारपछि अचानक गति लिएको ‘पार्वती’ले भारतीय सुपरहिट फिल्म ‘हनुमान अंश’ले पछ्याएको जस्तै व्यापारिक यात्रा समातेको चर्चा निर्माण पक्षमा भइरहेको छ। दर्शकको सकारात्मक प्रतिक्रिया र बढ्दो शो संख्यासँगै फिल्मले घरेलु बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।

