संगय छेल्ट्रिमको नेतृत्वमा १६ सदस्यीय भुटानी ‘टनेल-२६’ टोली नेपालमा

नेपाल, भुटान र भारतको सहकार्यमा बनेको ‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’को प्रचारका लागि भुटानी कलाकार, निर्माता र प्राविधिकको टोली काठमाडौं आइपुगेको छ। फिल्मको ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ।

नेपाल, भुटान र भारतको सहकार्यमा बनेको जम्बी हरर फिल्म ‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’को प्रचारप्रसारका लागि १६ सदस्यीय भुटानी टोली नेपाल आइपुगेको छ। असोज २३ अर्थात् अक्टोबर ९ को रिलिजलाई लक्षित गर्दै टोली सोमबार काठमाडौं आइपुगेको हो। थप पाँच सदस्य पनि नेपाल आउने बताइएको छ। फिल्म नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

यसअघि टिजर सार्वजनिक गरिसकेको फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिँदैछ। सोही कार्यक्रममा सहभागी हुन निर्माण पक्ष, कलाकार र प्राविधिकसहितको भुटानी टोली नेपाल आएको हो।

टोलीको नेतृत्व फिल्मका निर्माता तथा अभिनेता संगय छेल्ट्रिमले गरेका छन्। उनको स्वामित्वमा रहेको संगय छेल्ट्रिम फिल्म्स फिल्म निर्माणमा आबद्ध प्रमुख कम्पनीमध्ये एक हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संगयले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताए। उनले निर्माणमा एक वर्षभन्दा बढी समय मेहनत गरिएको उल्लेख गर्दै फिल्मको प्राविधिक र प्रस्तुति पक्षलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने प्रयास गरिएको बताए।

उनले भने, ‘धेरै उत्साहित छु। टनेल-२६ हामीले एक वर्षभन्दा बढी मेहनत गरेर बनाएका हौं। ट्रेलर धेरै राम्रो आएको छ। नेपाल र भुटानको सहकार्य अन्तर्राष्ट्रिय स्तरमा जाने निश्चित भएको छ। नेपाल र भुटानले सहकार्य गरेर बनाएको यो फिल्म हलिउड र बलिउडका फिल्मलाई टक्कर दिने गरी बनाएका छौं।’

संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा बनेको फिल्ममा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य छ।

फिल्मका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्ले हुन्। नेपाल आइपुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले फिल्म अहिले अन्तिम चरणमा रहेको र दर्शकको प्रतिक्रियालाई लिएर निर्माण टोली उत्साहित रहेको बताए।

उनले भने, ‘फिल्म अहिले आफ्नो अन्तिम चरणमा छ। कस्तो आउँछ भनेर हामी पनि रोमाञ्चित भइरहेका छौं। सबैको साथ पाइयो भने यस्ता सहकार्यले फाइदा हुनेछ।’

फिल्मलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको निर्माण पक्षले जनाएको छ। नेपालको व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.ली.ले गरेको छ भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।

‘टनेल-२६’मा संगय छेल्ट्रिमसँगै अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्। दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा आबद्ध छन्।

प्राविधिक पक्षमा दीर्घ गुरुङ र संगय टी. तेन्जिङले छायांकन गरेका छन् भने राजु तामाङ एक्सन निर्देशक हुन्। फिल्मको संगीत तथा ध्वनिसम्बन्धी काम थाइल्यान्डमा गरिएको र तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेको निर्माण पक्षले जनाएको छ।

नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकलाई एउटै परियोजनामा जोडेको ‘टनेल-२६’लाई नेपाल र भुटानपछि एसिया तथा उत्तर अमेरिकासहितका अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी रहेको निर्माण पक्षले यसअघि जनाएको थियो।

SUBSCRIBE 👉