पारस र प्रकाशको एल्बम सार्वजनिक


Album-Launchग्ल्यामर नेपाल, काठमाडौं । गत चैत्र ८ गतेको साँझ ‘स्रस्टाहरुसँग संगीतकार’ शिर्षकमा गायकका रुपमा प्रस्तुत भएका संगीतकार पारस मुकारुङले उक्त कार्यक्रममा उनले सिर्जना गरेका विभिन्न १६ गीतलाई स्वयम आफैंले गाएर सुनाएका थिए। सोही कार्यक्रमलाई छायाँकन गरेर निर्माण गरिएको भिडियो एल्बम ‘स्रस्टासँग संगीतकार’ र उनकै संगीत रहेको गायक प्रकाश आचार्यको ‘संसार’ नामक गीति एल्बम राजधानीमा सार्वजनिक गरिएको छ । उक्त दुई एल्बमलाई मण्डला थिएटरमा हालै आयोजित कार्यक्रममा संगीत तथा नाट्य एकेडेमीका सदस्य सचिव गणेश रसीक र संगीत अन्वेषक बुलु मुकारुङले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि रसीकले संगीतमा दुई पुस्ता रहेको र ती दुई पुस्ताबीच बुझाईको कमी रहेको धारणा व्यक्त गरे । त्यसै गरि कार्यक्रमका बिशेष अतिथी बुलु मुकारुङले पारस मुकारुङका संगीतमा अपनत्व पाईने बताउँदै उनको संगीतमा आफ्नो संस्कृति मिसिएको दाबी गरे ।

कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ र अभिनेता दयाहाङ राईले पनि आफ्नो मन्तव्य राखेका थिए । गायक प्रकाश आचार्यले २०६० सालमा हिट्स एफएम अवार्ड हात पारेपछि एक दशकको समय आफू विभिन्न कारणले संगीतभन्दा केही टाढा रहेको बताएका थिए भने पारस मुकारुङले आफूले गीत गाउने जोखिम उठाएको बताए ।

SUBSCRIBE 👉