ग्ल्यामर नेपाल, काठमाडौं ।
बिहिबार बेलुका आफ्नै निवासमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङलाई फिल्मकर्मी तथा सर्वसाधारणले भावपूर्ण श्रद्धाञ्जली दिएका छन् । नेपाल चलचित्र प्राविधिक संघसहित अन्य संस्थाको सक्रियतामा नेम्बाङको शवलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट पोस्टमार्टम गरी कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
उनलाई श्रद्धाञ्जली दिन आएका अधिकांश नायिकाहरुको आँखा आँशुले भिजेको थियो । अस्पतालदेखि नै नायिकाहरु नम्रता श्रेष्ठ, नम्रता सापकोटा, वर्षा शिवाकोटी, वर्षा राउत, सञ्चिता लुइटेलका आँखा आँशुले भिजिसकेका थिए। आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ आइपुगेकी वृद्ध आमा आलोकलाई पुष्पगुच्छा दिँदा भक्कानिएपछि नम्रता श्रेष्ठले सम्हालेकी थिईन् ।
आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन सभामुख सुवासचन्द्र नेम्वाङ, सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालसहित करिश्मा मानन्धर, सुष्मा कार्की, आनन्द कार्की, दीपाश्री निरौला, सुनिलकुमार थापा, झरना थापा, केकी अधिकारी, नन्दिता केसी, रिमा विश्वकर्मा, बाबु बोगटी, दीपकराज गिरी, प्रियंका कार्की, मलिना जोशी, जीवन लुइटेल, लगायतका फिल्मकर्मीहरु पुगेका थिए।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको शवमा काकाले दागबत्ति दिएका थिए । उनका आफन्तका अनुसार आलोकका पिता र फुपुले पनि आत्महत्या गरेका थिए ।