लेखकले नै बिर्सिए फिल्मको कथा !


Mission-Paisa-2ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म निर्माणपछि प्रदर्शनमा ढिलो हुँदा त्यसको मार फिल्ममा काम गर्ने सबैलाई पर्दछ । फिल्ममा काम गर्ने कलाकारले आफ्नो भूमिका सम्झिए पनि त्यसको कथा लेख्ने पटकथाकारले चाहिँ कथा नै बिर्सिदाको वातावरण हाँस्यास्पद नै हुन्छ ।

आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसन पैसा २ रिलोडेड’ले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका लेखक प्रचण्डमान श्रेष्ठले आफुले फिल्मको कथा बिर्सिएको बताउँदा माहौल हाँसोमय बनेको थियो । ‘मैले त फिल्मको कथा नै बिर्सिसकेको छु, मलाई लाग्छ यो फिल्म एक्सन कमेडी फ्लेबरको हुनुपर्छ ।’ प्रचण्डले भने ।

फिल्मका निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले फिल्म निर्माण पछिका केही प्राविधिक काम बाँकी रहेकाले प्रदर्शनमा ढिलाई भएको बताए । सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा निशा अधिकारी, आमिर गौतम, रेश मरहठ्ठा, हर्षिका श्रेष्ठले अभिनय गरेका छन् । फिल्ममा राजकुमार उप्रतीको द्वन्द्व, दीर्घ खड्काको सम्पादन, स्व. पाण्डव सुनुवारको संगीत र हरि हुमागाईको छायांकन रहेको छ । कार्यक्रममा फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको थियो ।

SUBSCRIBE 👉