बैंकको कब्जामा रजनीकान्तको कम्पनी


Rajani-Kantदक्षिण भारतीय फिल्मका सुपरस्टार अभिनेता रजनीकान्तकी पत्नी लताको सम्पत्ति बैंकले आफ्नो कब्जामा लिएको छ । रजनीकान्तको प्रोडक्सन कम्पनीले उनको पछिल्लो फिल्म ‘कोचडयान’ निर्माणको बेला लिएको ऋण नतिरेपछि एक बैंकले सम्पत्ति लिलामीको लागि नोटिस जारी गरेको हो । यो फिल्मकी निर्मात्री रजनीकान्तकी कान्छी छोरी सौन्दर्या हुन्, जसले बैंकबाट ऋण लिँदा आमा र बुबालाई ग्यारेन्टरका रुपमा लिएकी थिईन् ।

करिब १ सय २५ करोड रुपैंयाँको लागतमा बनेको यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो । यो थ्री डी शैलीको फिल्म निर्माण गर्नका लागि रजनीकान्तको प्रोडक्सन कम्पनी मीडियावन ग्लोबल इन्टरटेनमेन्ट कम्पनीले एग्जिम बैंकबाट २० करोड रुपैंयाँ ऋण लिएको थियो । तर गत मेमा रिलिज फिल्म फ्लप भएपछि कम्पनीले उक्त ऋण तिर्न सकेको थिएन । बैंकका अनुसार रजनीकान्तको कम्पनीले व्याजसहित बैंकलाई २२ दशमलब २१ करोड रुपैंयाँ बुझाउनु पर्नेछ ।

बैंकले पत्रिकामा सूचना प्रकाशित गर्दै उसले सम्पत्ति कब्जामा लिएको घोषणा गर्दै उक्त सम्पत्ति खरिद विक्रीको काम नगर्न समेत उर्दी जारी गरेको छ । तर कम्पनीले भने उक्त ऋण चाँडै नै तिर्ने प्रतिबद्धता जनाएको छ ।

SUBSCRIBE 👉