चैत्र ६ बाट जेठमा सर्यो धुन


Dhoon-Photoकाठमाडौं । चैत्र ६ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘धुन’ अब जेठमा रिलिज हुने भएको छ । प्रदर्शनको लागी तोकिएको दिन नजिकिँदै गर्दा फिल्मको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि नपुग्ने अवस्था आएको भन्दै निर्माण युनिटले रिलिज पोष्टपोण्ड गरेको हो ।

‘हामी जुन तयारीका साथ चैत्र ६ मा रिलिज गर्न लागिपरिरहेका थियौँ, त्यो अनुसार सम्पादनको काम पनि नसकिने अवस्था आयो र पब्लिसिटी पनि सोचेअनुसार पुग्ने नदेखेर रिलिज मिति सार्ने निर्णयमा पुग्यौं ।’ निर्माता मालती शाहले भनिन् । उनका अनुसार अब यो फिल्म जेठ पहिलो साता मात्रै रिलिज हुनेछ, तर मिति भने तोकिएको छैन ।

क्लासिक स्टुडियो बिजुलीबजारमा सम्पादनको क्रममा रहेको यो फिल्मले सांगीतिक प्रेम कथालाई समेटेको छ । कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको फिल्म सर्दा यसको फाईदा भने चैत्र १३ मा आउने फिल्म ‘भुलभुलैया’ लाई पुगेको छ । फिल्म ‘धुन’मा जस्तै ‘भुल भुलैया’मा पनि निता ढुंगाना र जीवन लुँइटेल प्रमुख भूमिकामा छन् ।

‘धुन’मा मुकेश ढकालको पनि अभिनय रहेको छ । वीरेन्द्र भट्टले खिचेको यो फिल्ममा सुशिल शाह, विनोद भट्ट, श्रेया दुलाल, मधुसुदन ढकालको लगानी छ ।

SUBSCRIBE 👉