काठमाडौ । टेलिभिजनको पर्दामा प्रायः देखिईरहने पत्रकार ऋषि धमला अब फिल्मको पर्दामा पनि देखिने भएका छन् । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्मको निर्देशक निलु डोमा शेर्पाले गरेकी हुन् ।
पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको फिल्म आगामी जेठ १५ गतेबाट अल नेपाल रिलिज हुँदैछ । निर्देशक शेर्पाका अनुसार फिल्ममा ऋषि धमला केमियो रोलमा देखिदैछन् । ‘स्क्रिप्टमा ऋषिजीको जस्तै क्यारेक्टर थियो । एक पटक उहाँलाई नै खेल्न प्रस्ताव गरी हेरौं न भनेर फोन गरेको कहिले हो सुट म आउँछु भन्नुभयो’ उनले भनिन् ‘फिल्ममा केमियोको रूपमा हुनुहुन्छ । ऋषिजी फिल्ममा पनि पत्रकार सम्मेलनको प्रतिनिधित्व गर्नुहुन्छ ।’
फिल्ममा ऋषि धमलासँगै एकै फ्रेममा देखिएकी अभिनेत्री प्रियंका कार्कीले पनि उक्त दृश्यमा ‘इन्जोय’ गरेको बताइन् । ‘सिन अनुसार हामी एउटा पत्रकार सम्मेलनमा हुन्छौ, झन् प्रश्नकर्ता ऋषि सर भएपछि त्यो दृश्य हामीलाई रियल झैँ लाग्यो र आश छ दर्शकले पनि मनोरञ्जन लिनु हुनेछ ।’ प्रियंकाले भनिन् ।
फिल्ममा प्रियंकासँगै दयाहाङ राई, केकी अधिकारी, अनुप विक्रम शाही, निशा अधिकारी, शिशिर राणा लगायतको अभिनय रहेको छ । फिल्ममा शान बस्न्यातको पटकथा तथा संवाद रहेको छ भने शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको संगीत तथा हरि हुमागाईको छायांकन रहेको छ । फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको छ ।