काठमाडौं । अभिनेत्री प्रियंका कार्की र गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकै कान्छा निर्देशकका रुपमा नाम लेखाउन सफल निर्देशक सौगात विष्ट फिल्म क्षेत्रको वर्ष व्यक्तिका रुपमा चुनिएका छन् । विगत ५ वर्षदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको फिल्मीखबर साप्ताहिकले छैठौ वार्षिकोत्सवमा उनीहरुलाई वर्ष व्यक्तिका रुपमा सम्मान गरिएको हो ।
पत्रिका प्रकाशन संस्था प्रविशा प्रकाशन प्रालिका अध्यक्ष प्रदीप उदय र पत्रिकाका सम्पादक शान्तिप्रियले दुवैलाई ताम्रपत्र र ट्रफी दिएर सम्मान गरेका हुन् । ‘सानो उमेरमा फिल्म निर्देशन गरेर नेपाली फिल्मलाई विश्वस्तरमा चिनाउनु आफैमा ठूलो काम हो, त्यो काम गरेका कारण हामीले सौगातलाई वर्ष व्यक्तिका रुपमा सम्मान गरेका हौं,’सम्पादक शान्तिप्रियले भने,‘आफु अभिनित फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गरे पनि नगरे पनि अहिलेको व्यस्त नायिका बनेकाले प्रियंकालाई छनौंट गरेका हौं ।’
सम्मान प्राप्त गरेपछि अंग्रेजी भाषामा सम्बोधन गर्दै सौगातले आफ्नो कामको कदर गरेकोमा आयोजकप्रति आभार व्यक्त गरेका थिए भने अभिनेत्री कार्कीले फिल्मकर्मीको माया र मिडियाको सद्भावले आफु अहिलेको स्थानमा पुगेको बताईन् ।
पत्रिकाका अध्यक्ष उदयले फिल्म क्षेत्रको उत्थानका लागि मिडिया क्षेत्रबाट पनि आफ्नो प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले पत्रिकालाई शुभकामना दिएका थिए भने पत्रिकालाई सहयोग पु¥याउने व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।