शैक्षिक अभियानमा दुर्गिस फिल्मस


काठमाडौं । दुई फिल्म ‘सायद’ र ‘होस्टेल’को व्यावसायिक सफलता पछि सामाजिक सेवामा झुकाव नदेखिएको दुर्गिस फिल्मसले तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटर्नस’बाट आफुलाई सामाजिक काममा अगाडि बढाउने भएको छ। फिल्मका निर्माता तथा कलाकार सुनिल रावलले समाज प्रति उत्तरदायी बन्नका लागि सामाजिक कामको शुरुवात गरेको बताए ।

Hostel Returns‘फिल्म बनाउनु मात्र ठूलो कुरा होईन, त्यसले समाजमा कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने कुरा पनि हो, फिल्मको दायित्व मनोरञ्जन मात्र होईन, समाज प्रति उत्तरदायी पनि हो,’निर्माता रावलले भने, ‘शुरुवातमा हाम्रो काबुले भ्याएसम्म पुस्तकालय निर्माण गर्ने, विद्यार्थीहरुलाई छात्रवृत्ति दिने काम गर्नेछौं, यो कार्यक्रम सफल भयो भने अन्य फिल्म मेकरलाई पनि प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो ।’

संसारमै शिक्षाको महत्व अन्य विषय भन्दा अगाडि रहेको जनाउँदै रावलले पूर्वदेखि पश्चिमसम्मका पिछडिएका र दुर्गम स्थानका बालबालिकालाई शिक्षाको ज्योति दिन आफुहरुले सोच अगाडि बढाएको बताए । ‘अहिले हामी यो अभियानलाई कसरी अगाडि बढाउँदै लैजाने विषयमा छलफल गरिरहेका छौं,’उनले खुलाए,‘हामी हाम्रो प्रमुख प्राथमिकता भनेको शिक्षालाई नै हो ।’ शिक्षाको विकासका लागि सहयोग गर्न चाहने जोकोहीसँग पनि आफु हातेमालो गर्न तयार रहेको रावलले खुलाए ।

निर्माता रावलका अनुसार ‘होस्टेल रिटन्र्स फर एजुकेशन’ नाम दिइएको कार्यक्रम लिएर उनी चाँडै दुर्गम स्थानमा पुग्नेछन् । यो कार्यक्रम फिल्म रिलिज पछि पनि जारी रहनेछ । फिल्म वैशाख २५ बाट प्रदर्शन हुँदैछ । सुरज भुषालले निर्देशन गरेको फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेनलगायतको अभिनय रहेको छ ।

SUBSCRIBE 👉