कमेडीयनको अभियानमा आर्थिक सहयोग


काठमाडौं । दुर्गम गाउँमा पुगेर भूकम्प पीडितका लागि घर, विद्यालय र चर्पी बनाउने अभियानमा जुटेका कमेडीयन जोडी सीताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले नेतृत्व गरेको टोलीलाई दुबईमा कार्यरत राजु दाहालले दुई लाख १५ हजार रुपैंयाँ सहयोग गरेका छन् । इटहरी घर भएका दाहालले टोलीमार्फत भूकम्प पीडितहरु समक्ष सहयोग पुगोस् भन्ने हेतुले उनले सहयोग गरेका हुन् ।

Donationदाहालले दुबईबाट पठाएको एक महिनाको तलब बापतको २ लाख १५ हजार रुपैंयाको चेक उनका बुबा भीमबहादुरले कमेडीयन जोडीका पूर्वाञ्चल प्रतिनिधि पत्रकार प्रेम बास्तोलालाई बिहीबार हस्तान्तरण गरेका छन् । ‘हामीले टेलिभिजन र पत्रपत्रिकामा धुमुर्स र सुन्तलीको जोडीले हाल गरिरहेको काम प्रशंसायोग्य ठान्यौ । अर्को तर्फ बिभिन्न क्षेत्रबाट आएका राहात दुरुपयोग भएको खबर पनि सुन्यौं । प्रधानमन्त्रीको राहात कोषमा हाल्दा वास्तविक पिडितसम्म रकम नपुग्ने लाग्यो । त्यही भएर धुमुर्स र सुन्तलीलाई पठाउदा रकम वास्तविक पिडितहरुसम्म पुग्ने देखेकाले रकम उनिहरुलाई हस्तान्तरण गरेका हौ,’६५ वर्षे भीमबहादुरले भने,‘यो कुरा छोराले पनि थाहा पाएकाले उसले सहयोगमा अग्रसरता देखायो । धुमुर्स र सुन्तलीको काममा हामीले केही पनि स्वार्थ देखेनौं ।’

दुबईमा रहेर पनि आफ्नो तर्फबाट २ लाख बढी रकम आफु र सुन्तलीमार्फत भुकम्प पिडितहरुलाई सहयोग गर्नका लागि राजुले देखाएको तत्परता प्रति सीतारामले कृतज्ञता व्यक्त गरेका छन् । राजु दुबईस्थित एडिएस टेक्नोलोजि कम्पनिमा इन्जिनियरको रुपमा कार्यरत् छन् । अमेरिकाको दुई महिने कार्यक्रम रद्ध गरेर स्वदेश फर्किएका धुमुर्स सुन्तलीले ‘भद्रगोल’ र सगुन डटकमलगायतका संस्था तथा कलाकारसँग सहकार्य गर्दै सिन्धुपाल्चोक र नुवाकोटमा विद्यालय, चर्पी र घर निर्माण गरेका थिए।

SUBSCRIBE 👉