‘झोले’ले भर्ला त झोला ?


priyanka-karki-photo
ग्ल्यामर नेपाल, काठमाडौं । शुक्रबारबाट एउटा प्रतिक्षित चलचित्र प्रदर्शन हुँदैछ, ‘झोले’ । दिपेन्द्र के.खनाल निर्देशित डार्क कमेडी जनराको यो फिल्ममा पछिल्लो समयका दुई चर्चित कलाकार दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ ।

‘झोले’को बक्स अफिस कलेक्सनले निर्देशक दिपेन्द्रसँगै दयाहाङ र प्रियंकाको करिअरमा ठूलो महत्व राख्ने छ । दिपेन्द्रको पछिल्लो चलचित्र ‘भिजिलान्ते थ्रिडी’ व्यावसायिक रुपमा सफल हुन सकेन । ‘लुट’मा गोफ्लेको भूमिका निर्वाह गरेर रातारात स्टार बनेका दयाहाङका पछिल्ला आधा दर्जन चलचित्र असफल भए । त्यस्तै, निकै आशा र भरोसा गरिएकी अभिनेत्री प्रियंकाका ‘कलिउड’, ‘थ्रि लभर्स’ र ‘भिजिलान्ते’ गरी तीन चलचित्र फिक्का सावित भएका छन् । सोही कारण यी तीनैजनाको असफलताको यात्रालाई ‘झोले’ले पूर्णविराम लगाईदिने विश्वास गरिएको छ । टेकेन खड्का यही चलचित्रबाट निर्माता बनेका छन् । उनलाई पहिलो गाँसमा ढुंगा मिल्नेछ वा खिर ? प्रतिक्षाको विषय बनेको छ ।

बेरोजगार युवाहरुको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको ‘झोले’को ट्रेलर, पोस्टर र गीत निकै रुचाइदिएको छ । धरान र पोखराको प्रिमियरबाट आएको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष हौसिएको छ । प्रमोशनमा पनि कुनै कन्जुस्याई गरिएको छैन् । सोही कारण ‘झोले’ले निर्माताको झोला भर्ने आशा राखिएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।

‘झोले’ सँगै अर्को एउटा यस अगाडि नामै नसुनिएको फिल्म रिलिज हुँदैछ्, ‘स्रमाट’ । नेपाली र भोजपुरी भाषाको यो फिल्ममा एक्सन स्टार विराज भट्टको मुख्य भूमिका रहेको छ । रुवी सिंहको पनि अभिनय रहेको फिल्मका निर्देशक लीलाधर भट्टराई हुन् ।

SUBSCRIBE 👉