दसैंमा खेलिएला त करिश्माको “फागु”?


झण्डै डेढ दशक पछि करिष्मा मानन्धर निर्मात्रीको रुपमा देखिदैछिन्। उनले निर्माण गरेको फिल्म हो, ‘फागु’। सम्झना उप्रेती रौनियारले निर्देशन गरेको यस फिल्मलाई नारीप्रधान भनिएको छ। त्यसैले आउँदो तीजमा रिलिज गर्ने घोषणा गरेकी थिइन् उनले। नारीप्रधान फिल्म भएकाले तीजमा प्रदर्शन गर्दा व्यावसायिक राहत हुने पक्का थियो। तर भूकम्पले सिनेमा क्यालेन्डर बिगारिदिएपछि करिष्मा तनावमा फसेकी छन्।

Karishma Manandhar Fagu the colours of lifeभूकम्पका कारण झण्डै चार महिना नयाँ नेपाली फिल्म रिलिज नहुने भएको छ। भदौको सुरुवातबाट मात्र निर्माताले फिल्म चलाउने छाँटकाँट देखाएका छन्। सोही कारण फिल्मको चाप बढेकाले रिलिज मिति पाउनै मुस्किल भएको छ। ठूलो ब्यानरका फिल्मसँग जुध्नु पर्‍यो र अफ-सिजनमा भयो भने व्यापारमा प्रभाव पार्छ भन्ने राम्रो हेक्का छ करिष्मालाई। सोही कारण अब दशैंमा रिलिज गर्ने दाउमा लागेकी छन्। वितरक र प्रदर्शकको साथ पाए भने दशैंमा प्रदर्शन गर्ने भनाई सार्वजनिक गरिसकेकी छन्।

तर दसैंको रिलिज मिति पाउनु करिष्मालाई फलामकै चिउरा चपाए सरह हुने देखिन्छ किनभने दुई फिल्म ‘अधकट्टी’ र ‘चंखे शंखे पंखे’ले दसैंमा रिलिज गर्ने घोषणा गरिसकेका छन् भने ‘फागु’को चर्चा कतै सुनिएको छैन। करिष्मा आफैं चलचित्र विकास बोर्डले वितरण गर्न लागेको अवार्डको जुरी भएकाले पनि रिलिजको मिति चाँपापाँजो मिलाउन पर्याप्त समय दिन पाएकी छैनन्। यता, ‘अधकट्टी’ र ‘चंखे शंखे पंखे’ को प्रमोशन सुरु भइसकेको छ। त्यसैले दसैंमा ‘फागु’ खेल्ने करिष्माको सपना पुरा हुन मुस्किलै देखिन्छ।

फिल्ममा शिल्पा पोखरेल, सुबाश पराजुली, गौरी मल्ल र प्रमोद अग्रहरी लिड रोलमा छन्।

SUBSCRIBE 👉