नेफ्टा अवार्डमा टुल्के र जेरी प्रतिष्पर्धी


काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले कतारमा आयोजना गर्न लागेको आठौं संस्करणको नेफ्टा अवार्डमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ र ‘जेरी’ सर्वाधिक विधाको मनोनयनमा परेका छन् । संघले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक मनोनयनमा टुल्के १५ र जेरी १२ विधाको मनोनयनमा परेका छन् । यी दुई फिल्म पछि ‘कबड्डी’ र ‘लज्जा’ समान ८ विधाको मनोनयनमा छन् ।
Nepali Actressफिल्म ‘टलकजंग भर्सेस टुल्के’ मनोनयनको ‘उत्कृष्ट फिल्म’, ‘निर्देशक’, ‘वर्षको लोकप्रिय फिल्म’, ‘अभिनेता’, ‘अभिनेत्री’, ‘पटकथा’, ‘संवाद’, ‘कला निर्देशन’, ‘सम्पादन’ लगायत १५ विधामा परेको छ भने ‘जेरी’ले ‘उत्कृष्ट फिल्म’, ‘लोकप्रिय फिल्म’, ‘निर्देशक’, ‘अभिनेता’, ‘छायांकन’, ‘सम्पादन’, ‘पटकथा’लगायतमा १२ विधामा मनोनित भएको छ ।  अवार्डमा ‘जेरी’, ‘कबड्डी’, ‘लज्जा’, ‘नोभेम्वर रेन’ र ‘टलकजंग भर्सेस टुल्के’ उत्कृष्ठ फिल्मका लागि प्रतिष्पर्धा गर्दैछन् । निर्देशनतर्फ ‘नोभेम्वर रेन’का लागि दिनेश राउत, ‘जेरी’का लागि हेमराज बीसी, ‘लज्जा’का लागि नवल नेपाल, ‘टलकजंग भर्सेस टुल्के’का लागि निश्चल बस्नेत र ‘वान वे’का लागि सुरज सुब्बा प्रतिष्पर्धी छन् ।

‘उत्कृष्ट नायक’मा आर्यन सिग्देल ‘नोभेम्वर रेन’, दयाहाङ राई ‘कबड्डी’, जीवन लुईंटेल ‘स्टुपिड मन’, खगेन्द्र लामिछाने ‘टलकजंग भर्सेस टुल्के’ र सौगात मल्ल ‘उत्सव’का बीच भीडन्त हुँदा नायिकामा केकी अधिकारी ‘श्री ५ अम्बरे’, नम्रता श्रेष्ठ ‘नोभेम्वर रेन’, नन्दिता केसी ‘लोग्ने मान्छे’, प्रियंका कार्की ‘नाई नभन्नू ल ३’ र ऋचा शर्मा ‘टलकजंग भर्सेस टुल्के’ प्रतिष्पर्धी छन् ।
Nefta Awardकार्यक्रममा जुरीका तर्फबाट बोल्दै संयोजक नारायण पुरीले जुरी विच विभिन्न मत भिन्नता रहेपनि सुक्ष्म अध्ययन गरेर मनोनयन सार्वजनिक गरिएको बताए । अर्का जुरी भरत शाक्यले अवार्डमा फिल्म हेर्दा नेपाली फिल्मको विकास भएको आभाष भएको जनाउँदै संवाद, लेखनमा अझै मिहिनेत गर्नुपर्ने बताए । संघका अध्यक्ष मनोज केसीले आफूहरुले नेपाली फिल्मको विकासका लागि नै अवार्ड आयोजना गर्दै आएकाले चित्त नवुझेका कुरा अगाडि आएर भन्न र पछि बसेर कुरा नकाट्न आग्रह गरे । अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारसँग सहकार्य गर्दै नेफ्टाले कतारमा यो बर्ष अवार्ड आयोजना गर्न लागेको हो । यसअघि नेफ्टाले नेपालबाहिर मलेसिया र हङकङमा अवार्ड आयोजना गरिसकेको छ ।

SUBSCRIBE 👉