यूके र नेपालमा तीन घुम्तीको एकसाथ प्रिमियर


काठमाडौं । जननायक वीपी कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’लाई आधार बनाएर निर्माण गरिएको फिल्म ‘तीन घुम्ती’को लण्डन र नेपालमा एकसाथ प्रिमियर हुने भएको छ । बाबुराम ढकाल निर्देशित फिल्म साता पछि लण्डन र काठमाडौंमा एकसाथ प्रिमियर हुन लागेको हो ।

Teen Ghumtiफिल्मबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक ढकालले फिल्ममा एउटा नारीको प्रेमिका, पत्नी र आमाको रुपलाई प्रस्तुत गरिएको बताए । ‘बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँगको सामिप्यता र त्यसबाट सन्तान प्राप्ति अनि पतिबाट अस्वीकृत भएपछि सन्तान लिएर एक्लै बस्ने निर्णयमा आधारित कथालाई प्रस्तुत गरिएको छ ।’ निर्देशक ढकालले भने ।

फिल्मकी प्रमुख पात्र गरिमा पन्तले ऐतिहासिक कृतिको फिल्ममा काम गर्दा निकै रमाइलो लागेको जनाउँदै आफुले पनि सक्दो मेहनत गरेको जनाईन् । कर्मा प्रोडक्सन प्रालिको व्यानरमा बनेको फिल्ममा गोपालप्रसाद सुवेदी, पंकज जलन र बाबुराम ढकाल निर्माता, राकेश अडुकीया कार्यकारी निर्माता छन् । फिल्ममा ध्रुव दत्त, सुशान्त कार्की, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी र तीर्थ थापाको पनि अभिनय रहेको छ ।

सामिप्यराज तिमल्सिनाको पटकथा संवाद रहेको फिल्ममा विपिन मल्लको सम्पादन, बसन्त सापकोटाको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉