बन्दमा पनि सफलता चाख्दै होस्टल रिटन्र्स


काठमाडौं । दुर्गिस फिल्मस्लाई सधैं एउटा संयोग मिल्ने गर्दछ । त्यो के भने यो व्यानरले निर्माण गरेका फिल्म प्रदर्शन हुँदा प्रायः नेपाल बन्द या अन्य बन्द परिरहेको हुन्छ । व्यानरको डेब्यु फिल्म ‘सायद’ चल्दा माओवादीले आम हड्ताल गरिरहेको थियो । दोस्रो फिल्म ‘होस्टेल’ प्रदर्शन हुँदा पनि झण्डै एक हप्ता जति बन्द परेको थियो । अहिले तेस्रो फिल्म ‘होस्टेल रिटन्र्स’ प्रदर्शन भईरहँदा पनि आदिवासी जनजाति, तराईमा मधेसीको बन्द चलिरहेको छ ।

जुन पार्टीले जति लामो बन्द गरे पनि दुर्गिसका फिल्मले असफलता भने व्यहोर्नु परेको छैन । ‘फिल्म राम्रो बनेको छ र दर्शकको माउथ पब्लिसिटी राम्रो भईदियो भने बन्दको बेला पनि हिँड्दै दर्शकहरु हलमा आएर फिल्म हेर्दा रहेछन्,’फिल्मका निर्माता सुनिल रावल भन्छन्,‘मेरा अघिल्ला दुई फिल्म र अहिले प्रदर्शन भईरहेको फिल्मको बक्स अफिस कलेक्सनलाई हेर्दा पनि वातावरण त्यस्तै देखिरहेको छु ।’
Hostel Returnsनिर्माता सुनिलका अनुसार बन्दका बाबजुद पनि फिल्मले सोमबारसम्म १ करोड ३५ लाख भन्दा माथि कलेक्सन गरिसकेको छ । ‘बन्द नभईदिएको भए सायद दुई करोड पुगिसक्थ्यो,’उनले थपे,‘तर पनि दर्शकको प्रतिक्रियाबाट हामी खुशी छौं, उहाँहरु बन्दको परवाह नै नगरी फिल्म हेर्न हलसम्म आईरहनु भएको छ ।’

गत शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको फिल्मले कति नाफा गर्छ भन्ने कुरा चाहिँ मंगलबारको व्यापारबाट थाहा हुने निर्माता रावलले बताए । फिल्मका वितरक गोविन्द शाही पनि दर्शकको क्रेज र फिल्मको व्यापारबाट खुशी छन् । ‘बन्दका दिनमा पनि प्रायः सबै हलमा दर्शकको चाप राम्रो छ ।’ वितरक शाहीले भने ।

फिल्म ‘मौन’ बाट निर्देशनमा डेब्यु गरेका निर्देशक सुरज भुषालले निर्देशन गरेको ‘होस्टेल रिटन्र्स’ले इञ्जिनियर पढ्न होस्टेल बस्ने विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल र नाजिर हुसेनलगायतका कलाकारले अभिनय गरेका छन् ।

SUBSCRIBE 👉