काठमाडौं । अरु बेला बाहिरी कार्यक्रमले खचाखच हुने राजधानीको जमलस्थित सांस्कृतिक संस्थानको नाचघर बुधबार भने आफ्नै कार्यक्रमले भरिएको थियो । सांस्कृतिक संरक्षण अभियान अन्तर्गत मेची देखि महाकालीसम्मको नृत्य तथा नाचगान प्रस्तुतीको लागि संस्थानले बुधबार सांझ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरेको कार्यक्रममा हिमालदेखि तराई तथा मेची देखि महाकालीको सांस्कृतिक झल्कने एक दर्जन नृत्य प्रस्तुत गरियो । अबेर बेलुकासम्म चलेको सो साँस्कृतिक कार्यक्रममा सँस्थानका कलाकारले शास्त्रीय नृत्यबाट अतिथिको स्वागत गरेका थिए । लगत्तै पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई…गीतमा १४ अञ्चालकै सँस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।
संस्थानको गोरनबहादुर चौधरी र सबनम शिलवालले प्रस्तुत गरेको भैरवकाली नृत्य पनि आफैंमा ससक्त थियो । यस्तै अञ्जु रञ्जितकार, कविता मानन्धर, सिता कार्की, मनोज जोशी, केशबराज राई र मदन थापाले प्रस्तुत गरेको तामाङ शेलो नृत्यले पहाडी क्षेत्रका तामाङ समुदायको सँस्कृति झल्काएको थियो । मायाँ थापा, शुशिला थापा, सुनिता लामा, रेखा श्रेष्ठ, बृहसमान सुनुवार, खिम गुरुङ, श्रीहरी फुयाल र छबी थापाले प्रस्तुत गरेको मारुनी नृत्यले पूर्वी पहाडी क्षेत्रको सँस्कृतिको झल्को दिएको थियो ।
यस्तै सुदुर पश्चिमको सँस्कृतिक महत्व बोकेको छलिया नृत्य सँस्थानका कलाकारले प्रस्तुत गर्दा दर्शक दीर्घाबाट निकैबेर ताली बज्यो । कार्यक्रममा मध्यपश्चिम क्षेत्रको सँस्कृति बोकेको करुणा चुट्का नृत्य, थारु समुदायको लोकप्रिय नृत्य झुम्रा नाच, मगर र गुरुङ समुदायको प्रचलित नृत्य थ्युम्कुली नाच, पूर्वी नेपालका किरात समुदायको साकेला शिली नृत्यले पनि कार्यक्रमको रौनकता बढाएको थियो । कार्यक्रमको अन्त्यमा सँस्थानका कलाकारले मयुर नृत्य प्रस्तुत गरेका थिए । सो नृत्य दर्शककालागि निकै रोचक बनेको थियो ।
युवा तथा खेलकुद मन्त्री पौडेलले नेपाली पर्यनट र सँस्कृतिलाई जोडेर अघि बढ्न सके सास्कृतिसँगै पर्यटनको पनि बिकाश हुने धारणा राखे । साँस्कृतिक सँस्थानका महाप्रबन्धक राजेश थापाले अब सँस्थानले नियमित रुपमा यस्ता साँस्कृतिक कार्यक्रम गर्ने बताए । सँस्थानले साँस्कृतिक लाईब्रेरी सुरु गर्न थालेको जानकारी गराउँदै मेची देखि महाकालीसम्मको हराउँदै गाएको सँस्कृति, नाचहरुलाई सँरक्षण गर्न सँस्थानले विविध कार्यक्रम गर्ने पनि उनले जानकारी गराए ।