मुगुकी किशोरीहरुको फुटबल कथामाथि बनेको नेपाली वृत्तचित्र फिल्म ‘सुनकली’ले विश्व फुटबल महासङ्घको टेलिभिजन ‘फिफा टिभी’को प्रतिवेदनमा रिपोर्टमा स्थान पाएको छ। फिफा टिभीको समूह काठमाडौं आई सुनकलीको कथालाई समेटेर विशेष रिपोर्ट तयार पारेको सुनकलीका निर्देशक भोजराज भाटले जानकारी गराए। फिफा टिभीको युट्युव च्यानलमा पनि ‘मिट द हिमालयन मेसी’ शीर्षकमा उक्त भिडियो रिपोर्ट अपलोड गरिएको छ। सुनकलीसँगै १२ मिनेट लामो भिडियो रिपोर्टमा नेपाली राष्ट्रिय पुरुष र महिला फुटबल टिम पनि स्थान पाएको छ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजी ग्योतोकु, राष्ट्रिय टिमका स्टाइकर नवयुग श्रेष्ठ र राष्ट्रिय महिला टिमकी कप्तान अनुलामालाई समेटिएको छ। उक्त रिपोर्टमा १८ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको सुनकली वृत्तचित्रका विभिन्न दृश्य देखाइएको छ।
निर्देशक भाटले नेपालको दुर्गम क्षेत्रका किशोरीहरुको कथामा आधारित वृत्तचित्रले फिफा जस्ता अन्तर्राष्ट्रिय टिभीमा स्थान पाउनु गर्वको कुरा भएको बताए। ललितपुरको सेन्टजेभियर्सका स्कुले बालबालिका उत्साहपूर्वक ‘सुनकली’ हेरिरहेको दृश्यलाई समेत महत्वका साथ फिफा टिभीले आफ्नो रिपोर्टमा राखेको निर्देशक भाटले बताए।
असीभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म उत्सवमा सहभागिता जनाइसकेको ‘सुनकली’का तीनजना पात्र यतिखेर काठमाडौँंमा पूर्ण आवासीय छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।
भिडियो हेनुहोस् – Meet the Himalayan Messi