
नयाँ वर्षसँगै हाँसोको डोज फर्किँदैछ। लोकप्रिय टिभी शो ‘कमेडी दरबार’ तेस्रो सिजनसहित स्क्रिनमा आउन तयार छ। सुटिङ सुरु भइसकेको छ र प्रसारण वैशाख ४ बाट हुने तय भएको छ।
काठमाडौँको पुतलीसडकस्थित स्टुडियोमा सोमबार दुई एपिसोडको सुटिङ सकिएको छ। पहिलो एपिसोडमा फिल्म ‘मितज्यू’ टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल र तेरिया मगर अतिथिको रूपमा देखिएका छन्। दोस्रो एपिसोडमा ‘पहाड’ फिल्मको टिम सहभागी भएको थियो।
पहिलो दुई सिजनको सफलतापछि यसपटक शोमा केही नयाँपन थपिएको छ। सेट डिजाइनमा परिवर्तन गरिएको छ भने जज प्यानल पनि विस्तार गरिएको छ। अब ‘महाराजा’का रूपमा मनोज गजुरेल र ‘महारानी’का रूपमा गौरी मल्ल सँगै नयाँ ‘रानी’को रूपमा दिया मास्के पनि जोडिएकी छन्।
कमेडी टिममा पनि नयाँ अनुहार थपिएका छन्। दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बा ले यस सिजनमा इन्ट्री गरेका छन्। पुराना लोकप्रिय कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल यथावत छन्।
शोको निर्देशन श्रृद्धा प्रसाईं र बिक्की अगरवाल ले गरिरहेका छन्। होस्टिङमा बिक्कीसँगै सजिना खनाल देखिनेछिन्। लेखन टिममा सरोज भण्डारी र विकास अर्याल रहेका छन्।
‘कमेडी दरबार’ प्रत्येक शुक्रबार राति प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत प्रसारण हुनेछ।
यो पनि पढ्नुहोस्: मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’, पूजा शर्मा र विजय बराल पहिलो पटक अनस्क्रिन जोडी
