
Prashamsha Rayamajhi is set to make her silver screen debut as the lead actress in the upcoming social drama “Chiranjeevi Bhava:”
सामाजिक सञ्जाल र मोडलिङ दुनियाँमा चर्चा कमाई सकेकी प्रशंसा रायमाझी अब नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने तयारीमा छन्। उनले फिल्म “चिरञ्जीवी भवः” बाट डेब्यु गर्न लागेकी हुन्। फिल्मलाई दीपकप्रसाद आचार्यले निर्देशन गर्नेछन् भने कथा कुमार कट्टेलले तयार पारेका हुन्। सविन अधिकारी र बसन्त न्यौपानेले पटकथा लेखिरहेका छन्।
यो फिल्म चर्चित हास्य कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुँदैछ। टेलिभिजनमा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता सुपरहिट सिरिजमार्फत दर्शकको मन जितेका यी दुई सर्जकको फिल्मी सहकार्यलाई उद्योगमा विशेष चासोका साथ हेरिएको छ। करिब आठ वर्षदेखि निरन्तर सहकार्य गर्दै आएका उनीहरूको यो प्रोजेक्टलाई ‘ड्रिम प्रोजेक्ट’ का रूपमा हेरिएको छ।
‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुँदैछ, जसको कथा दुई पुस्ताबीचको सोच, मूल्य र सम्बन्धमा केन्द्रित रहने बताइएको छ। आधुनिक जीवनशैली र पारिवारिक संरचनाबीचको द्वन्द्वलाई फिल्मले प्रस्तुत गर्नेछ।
निर्माण पक्षका अनुसार हाल स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको छ र आगामी डेढदेखि दुई महिनाभित्र छायांकन सुरु गर्ने योजना छ। फिल्मको अन्य कलाकार र प्राविधिक टोली भने क्रमशः सार्वजनिक गरिनेछ।
प्रशंसा रायमाझीले सामाजिक सञ्जालमा लाखौँ फलोअर्स कमाएकी छन्। उनको लोकप्रियता विशेषगरी युवा पुस्तामाझ रहेको छ। त्यसैले उनको डेब्युले फिल्मप्रति युवा दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।
यसअघि दीपकप्रसाद आचार्य निर्देशित फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो भने कुमार कट्टेल को ‘लाज शरणम्’ ले पनि व्यावसायिक सफलता हासिल गरेको थियो।
अब यी दुई सफल सर्जकसँग नयाँ अनुहारको रूपमा प्रशंसा रायमाझीको प्रवेशले ‘चिरञ्जीवी भवः’लाई अझै चर्चित बनाउने देखिन्छ।
यो पनि पढ्नुहोस्: अन्तरजातीय प्रेमकथा ‘जदौ’को रिलिज डेट फाइनल, पोस्टर रिलिजसँगै चुलियो चर्चा
