
निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशनमा नेपाली चलचित्र ‘अक्षरा’को औपचारिक छायांकन सुरु भएको छ। दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिसकेका विनयराज पौडेलले लामो अनुभवपछि ‘अक्षरा’मार्फत स्वतन्त्र निर्देशन यात्रा सुरु गरेका हुन्।
निर्माण टिमले सोमबारदेखि काठमाडौँबाट फिल्मको सुटिङ सुरु गरेको हो। केही दिनअघि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको थियो।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको छायांकन तालिका एक महिनाको तय गरिएको निर्माण पक्षले जनाएको छ। निर्देशक पौडेलका अनुसार सम्पूर्ण तयारी, पटकथा र कलाकार कार्यशालापछि मात्रै फिल्म फ्लोरमा गएको हो।
निर्देशक पौडेलले फिल्मको कथालाई दर्शकसँग जोडिने गरी तयार गरिएको बताए। उनले भने, “हामीले पटकथा र संवादमा निकै मेहनत गरेका छौँ। कलाकारहरूलाई वर्कसपमार्फत पात्रमा ढालेर मात्र छायांकन सुरु गरेका हौँ। फिल्मले दर्शकलाई फरक अनुभूति दिने विश्वास लिएका छौँ।”
फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय रहनेछ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई पनि देख्न सकिनेछ।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ।
छायांकन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ। निर्माण व्यवस्थापन सुमन काफ्लेले सम्हालिरहेका छन्।
पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने फिल्मलाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्।
यो पनि पढ्नुहोस्: दयाहाङ र सौगात सँग ‘मितज्यू’मा तेरिया मगरको विशेष भूमिका
